डोटी । देशको ४८औं जिल्लाका रुपमा डोटी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात भए सँगै सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा स्वास्थ्य बिमा कार्यक्रमले छोएको छ ।
सुदूरपश्चिम प्रदेश देशमै सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने पहिलो प्रदेश भएको छ । बिक्रम सँवत २०७२ चैत २५ गते देशमा नै पहिलो पटक कैलाली जिल्लावाट स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात भएको हो । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पछि अन्तिम जिल्लाको रुपमा डोटी जिल्लामा बिमा कार्यक्रमको शुरुवात गरिएको हो ।
स्वास्थ्य बिमा बोर्ड टेकु काठमाण्डौंका जनस्वास्थ्य निरिक्षक भरत बोहराका अनुसार बिमा कार्यक्रमको शुरुवातका लागि सरोकारवालहरु सँगको छलफल कार्यक्रम सम्पन्न भईसकेको छ । स्थानीय तहका सबै वडाहरुमा दर्ता सहयोगीका रुपमा कर्मचारी राख्ने तयारी भईरहेको छ ।
जनस्वास्थ्य निरिक्षक बोहराले भन्नुभयो,–“राष्ट्रिय स्वास्थ्य बिमा नीति २०७१ मा उल्लेख भए अनुसार नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाका आधारमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य अनुसार स्वास्थ्य बिमा कार्यक्रम शुरुवात गरिएको हो ।” नेपालको सँबिधान २०७२मा समेत स्वास्थ्य सेवालाई नागरिकको मौलिकहकका रुपमा समेटिएको छ । राज्यको निति निर्देशक सिद्धान्त अन्तरगत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै उनिहरुको स्वास्थ्य उपचारमा पहुँचको ब्यबस्था गरिने कुरा संबिधानमा किटान गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन चाहने घर परिवारले पाँच जना सम्म सदस्य भएमा बार्षिक ३ हजार ५०० र पाँच जना भन्दा बढी सदस्य भएमा प्रति सदस्य थप सात सयका दरले बिमा रकम ब्यहोर्नु पर्ने ब्यबस्था गरिएको छ । बार्षिक रुपमा पाँच जना सम्म सदस्य भएका परिवारले एकलाख सम्म र पाँच भन्दा बढी सदस्य भएमा प्रति सदस्य २० हजारका दर बढ्दै दुई लाखमा सम्मको बिमावाट स्वास्थ्य उपचार पाउने ब्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश भरिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउन यसै आर्थिक बर्षका लागि २० लाख रकम बिनियोजन गरिएको बताईएकोे छ । स्वास्थ्य बिमा कार्यक्रमलाई डोटीमा स्थानीय तहहरुले समेत प्रभावकारी रुपमा अगाढी बढाउने प्रबिवद्धता ब्यक्त गरेका छन् ।
दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले नगर क्षेत्र भित्रका अति बिपन्न बर्गका ब्यक्ति र परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउन लाग्न आबश्यक रकम नगरपालिकाले ब्यहोर्ने निति लिएको बताउनुभएको छ । नगरप्रमुख मलासीले भन्नुभयो,–“निति नै बनाएर हामि बिपन्न बर्गलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने तयारीमा छौं । त्यसको लागि आबश्यक रकम तिर्न नसक्ने ब्यक्तिको रकम नगरपालिकाले दिन्छ ।”