सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदबाट पारित भएको सो सम्मेलन आगामी २० मंसिरदेखि सुरु हुनेभएको छ ।
प्रदेशमा वित्तीय साक्षारताको अवस्था, वित्तीय पहुँचका लागि प्रदेश सरकारले गर्नुपर्ने काम, संघीय सरकारले चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले जानकारी दिए ।
‘सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँचको अवस्था कस्तो छ, वित्तीय पहुँच वृद्धि गर्न प्रदेश सरकार र संघीय सरकारले के कस्ता कामहरू गर्नुपर्नेछ, निजीक्षेत्रले के कस्ता समस्याको सामना गरिरहेको छ, त्यसको समाधानका लागि कसले के कस्तो काम गर्नुपर्नेछ भन्ने जस्ता विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो,’ आर्थिक मामिला तथा योजनामन्त्री बोहोराले बताए ।
सम्मेलनमा प्रमुख वक्ताको रूपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । यस्तै, संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेश भट्टराई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा विश्व बैंक, अन्तराष्ट्रिय मुद्राकोष, एशियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिको पनि सहभागिता हुनेछ । यस्तै नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्डजस्ता नियामक निकायका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुने छन् ।
सम्मेलनमा सबै बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, बीमा कम्पनी, लघुवित्त संस्था, नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, फाइनान्स कम्पनी एसोसिएसन, लघुवित्त बैंकर्स संघका अध्यक्ष पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।