माघ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले अहिलेको आवश्यकता स्थानीय तहको निर्वाचन नै भएको बताएका छन् ।
स्थानीय तहको निर्वाचन सार्ने चक्रव्यूह गलत भएको उनको जिकिर छ । देवकोटाले भने, “विगतमा समयमै निर्वाचन हुँदा स्थानीय तहमा २० वर्ष जनप्रतिनिधित्व हुन सकेन । स्थानीय तहका पदाधिकारीको जेठ ५ गते ५ वर्षे कार्यावधि सकिन्छ । संविधानले ६ महिनाभित्र भनेको अन्तिम दिन होइन, एक दिनपछि गरे पनि हुन्छ । स्थानीय तहको निर्वाचन समयमै हुन्छ, गर्नैपर्छ ।”
स्थानीय तहभन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने हो भने दुई तिहाइ बहुमतले लिखित संकल्प प्रस्ताव पास गर्नुपर्ने उनले बताए । उनले भने, “सबैभन्दा महत्त्वपूर्ण कुरा अहिले एमाले प्रतिनिधिसभाको चुनाव चाहन्छ कि चाहँदैन ? तीनै तहको निर्वाचन एकै समय गर्न निर्वाचन आयोग सक्षम छ कि छैन ? छ भने पनि राष्ट्रिय सहमति हुनु आवश्यक छ । हुन सक्दा मुलुकको हितै हुन्छ । राज्यको खर्च कम हुन्छ, जनताको समय पनि बचत हुन्छ ।”
उनले एमालेले संसद अवरोध गरेर लोकतन्त्रकै धज्जी उडाएको आरोप पनि लगाए । देवकोटाले थपे, “प्रतिनिधिसभाको रिसले राष्ट्रिय सभा पनि लन्ठिएको छ । सम्मानित सर्वोच्च अदालतमा निवेदन परेको विषयमा संसद्मा कुरा उठाउन पाइँदैन । सभामुखको कामका विषयमा पनि बोल्न मिल्दैन । तर एमालेले त्यसको धज्जी उडाएको छ । अदालतले प्रतिनिधिसभा पुनःस्थापना त गर्यो तर कुनै निकास पाएन ।”
www.reportersnepal.com बाट