बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । संघीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको हो ।संघीय सरकारले रासायनिक मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै प्रदेश सरकारले उद्योग स्थापनाको विषयलाई अगाडी बढाउने तयारी गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।रासायनिक मल उद्योग स्थापनाका विषयमा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन तथा प्राविधिक परामर्श र छलफल प्रारम्भ गरेको छ । छलफलका क्रममा काठमाडौँ विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका संयोजक विराज सिंह थापाले कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमा हाइड्रोजनबाट युरिया मल उत्पादन गर्न सहज र कम खर्चिलो हुने उल्लेख गरिएको थियो ।मन्त्रालयले उद्योग स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग हेटौँडामा आवश्यक प्राविधिक परामर्श समेत गरिसकेको छ । लामो समयदेखि मल उद्योग खोल्ने विषयमा अध्ययन गरिरहेको काठमाडौँ विश्वविद्यालय, धुलिखेलसँग मन्त्रालयले सरोकारवाला पक्षको उपस्थितिमा प्राविधिक परामर्श तथा छलफल भएको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए ।सचिव पाण्डेका अनुसार मल उद्योगको महत्त्व र आवश्यकता बढिरहेको अवस्थामा उद्योग स्थापनाको मोडल तयार पारेर सञ्चालन गर्न सकिन्छ भनेर मन्त्रालयले गरेको तयारीको हो ।आगामी दिनको भविष्य हाइड्रोजनमा नै रहेकोले हाइड्रोजन, नाइट्रोजन र कार्बनडाइअक्साइडको प्रयोग गरेर मल उत्पादन गर्न प्राविधिक टोलीले सुझाव दिएका थिए । विद्युत्बाट हाइड्रोजन ग्यास बन्ने भएकाले प्राकृतिक ग्यासबाट भन्दा हाइड्रोजनबाट युरिया बनाउँदा सस्तो हुने र नेपालमा सबैभन्दा बढी हाइड्रोजन बन्न सक्ने अवस्था रहेकाले मल उत्पादनको गर्न सहज हुने उनीहरूको भनाई छ । हाइड्रोजनको प्रयोगबाट मल उत्पादन गरेर विश्व बजारमा निर्यात गर्न सकिने सम्भावना रहेको उनीहरूले भनाई छ ।