उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघको पहिलो साता भित्र उखु किसानलाई दिन बाँकी रकम उद्योगीबाट भुक्तानी गराउने बताएका छन् ।
उद्योगीले भुक्तानी नदिएको भन्दै काठमाडौंमा आएर आन्दोलन थालेको १५औं दिनमा उखु किसानलाई मन्त्री भट्टले मन्त्रालयमै बोलाएर भेटघाट गर्दै सो प्रतिवद्धता जनाएका हुन् ।
मन्त्री भट्टले केही उद्योगीले यही २५ पुससम्म भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको बताए । ‘केही चिनी मिललाई हामीले २५ पुस भित्र भुक्तानी गर्नुस् भनेर भनेका छौं । भुक्तानीको पनि प्रक्रिया हुने भएकाले केही समय लाग्छ,’ उनले आन्दोलित किसानसँग भने, ‘आगामी ७ माघ भित्र सबै रकम तपाईहरुको खातामा आउने छ ।’
सो अवधि भित्र उद्योगीले भुक्तानी नदिएमा अन्य प्रक्रिया अवलम्बन गरिने मन्त्री भट्टले बताए । ‘उद्योगीको सम्पत्ति जफत गरेर भएपनि माघ पहिलो साता भित्र किसानको भुक्तानी दिलाएरै छाड्छौं’ भट्टले भने ।
उद्योगीले भुक्तानी नदिएको सम्बन्धमा मन्त्री समक्ष कुरा राख्ने क्रममा उखु किसान रामविलास महतो रोएका थिए । विलासलाई देखेर मन्त्री भट्टले पनि आँशु खसाले । ‘म पनि किसान हुँ, यस्तो समस्या मैले पनि भोगेको छु,’ भट्टले भने, ‘तपाईहरु घर जानुस् यो समस्याको दीर्घकालीन सामाधानको लागि छलफल थालिसकेका छौं ।’
सरकारले दिने अनुदान पनि भुक्तानीको प्रक्रियामा रहेको भट्टले बताए । ‘अहिलेसम्म ७१ करोड भुक्तानी भइसकेको भर्खर अर्थबाट जानकारी आयो’ उनले भने, ‘बाँकी अनुदान पनि भुक्तानीको प्रक्रियामा छ ।’
किसान भन्छन् ‘हाम्रो आन्दोलन जारी रहन्छ’
मन्त्री भट्टले दिएको आश्वासनमा चित्त नबुझेको भन्दै आन्दोलन जारी राख्ने किसानले प्रतिक्रिया दिएका छन् । छलफलपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा किसान राकेश मिश्राले आफुहरुको आन्दोलन जारी नै रहने बताए । ‘यतिका सम्झौता भए, अहिलेसम्म हामीले भुक्तानी पाएनौं’ उनले भने, ‘अहिले पनि पाइएला भन्ने विश्वास लागेन । हाम्रो आन्दोलन जारी रहन्छ ।’ आन्दोलन गर्न गठित उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बुधबार बेलुका छलफल गरेर आन्दोलन गर्ने वा नगर्ने निष्कर्षमा पुगिने बताए । nayapatrika बाट