धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि उपकरणको आवागमन सहज गरिदिन अपिल गरेको छ । मन्त्रालयले अपिल मार्फत कृषकले उत्पादन गरेका कृषि तथा पशुपन्छी जन्यउपहरु तरकारी, फलफूल, दुध अण्डा, तयारी कुखुरा र उत्पादन सामग्री ओसारपसारमा कठिनाई परेको गुनासो प्रति ध्यान आकर्षण भएको जनाउँदै कृषि उपज तथा उत्पादन सामग्री ओसारपसारको क्रममा पर्न जाने कठिनाई सह गर्न सरोकारवाला संग समन्वय भईरहेको उल्लेख छ ।
हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउनको अवस्था कृषि जन्य उपकरण आवागमनमा सहज गरिदिन मन्त्रालयले अपिल गरेको हो ।
साथै मन्त्रालयले कृषि तथा पशुपन्छीजन्य उपज तथा उत्पादनमा कठिनाई भए मन्त्रालयको सम्पर्क नम्बर ९८५८४७७१२७, ९८४८८५९२७० र ९८५८४४०२२६ मा सम्पर्क गर्न प्रदेश सचिव डा. किसन लाल भट्टद्धारा हस्ताक्षरित अपिलमा अनुरोध गरिएको छ ।
मन्त्रालयले आजै प्रत्येक जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरेर कृषि उपजहरु आवागमनमा सहज गर्न अनुरोध गरेको छ । मन्त्रालयले किसानहरुले बाली भित्र्याउने बेला भईरहेकाले चुटानी गर्न प्रयोगमा आउने मेसिनरी औजारहरु ढुवानीमा सहज गरिदिन सुदूरपश्चिम प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ ।