धनगढी। "पहिले समाजवाद राज्यनियन्त्रित थियो " त्यसबेला राज्य र समाजलाई एउटै मानियो । त्यसकारण राज्यको नियन्त्रणलाई नै समाजको नियन्त्रण मान्ने गल्ती गरियो ।सबै कुराहरु राज्यद्वारा नियन्त्रित भएको हुँदा जनता निष्क्रिय बन्नगए । सबै कुराहरुको निर्णय राज्यले गर्ने भएपछि जनताले चाहिँ के गर्ने त ? जनताले चाहिँ दिएको खाने, अह्राएको गर्ने– अर्थात्, ‘दालभात तरकारी, जीउज्यान सरकारी !’ यसरी सबैको समानताको लागि स्थापित समाजवाद राष्ट्रिय पूँजीवादमा बदलियो । समाजको नाममा राज्यको एकाधिकार कायम भयो । खान–लाउन उपलब्ध हुनु नै स्वतन्त्रता होइन । यदि त्यसो हुन्थ्यो भने, प्राचीन कालका दासहरु कति स्वतन्त्र हुन्थे होलान्; पोल्ट्री फार्ममा पालिएका कुखुराहरु कति स्वतन्त्र हुन्थे होलान् ! विगतको समाजवादमा पनि जनताको अवस्था प्राचीन कालका दासहरु वा पोल्ट्री फार्मका कुखुराहरुको भन्दा धेरै भिन्न थिएन । उनीहरु सत्ताधारीहरुको अधीनस्थ थिए । समाज र राज्य एउटै होइनन् । राज्यसत्ता समाजबाट उत्पन्न हुन्छ र त्यसपछि समाजमाथि शासन गर्ने शक्ति बन्दछ । फेरि राज्यसत्ताको सञ्चालन त गर्दछन् । त्यसकारण यदि समाजको नाममा सबै कुरा राज्यको अधीनस्थ बनाइयो भने, सबैभन्दा शक्तिशाली नोकरशाह बन्दछ । फलस्वरुप समाज कमजोर र राज्यसत्ता बलियो बन्दछ । जनता कमजोर र शासकहरु शक्तिशाली बन्दछन् । शासक र शासित, शोषक र शोषित वर्गहरुको सृजना हुन्छ । राज्यसत्ताबाट शोषक वर्गको उत्पत्ति हुन्छ । राज्यसत्ता विलीन हुनुको सट्टा अझ सशक्त, बलियो र सुदृढ बन्दछ । राज्यसत्ताको आडमा परजीवी वर्गको उदय हुन्छ, त्यसको पालन–पोषण हुन्छ । पूँजीवादी व्यवस्थामा पनि राज्यसत्ता स्वायत्त हुँदैन । त्यो पूँजीपति वर्गको अधीनमा हुन्छ । त्यसकारण पूँजीपति वर्गले त्यसलाई आफ्नो हितअनुसार, आफ्नो स्वार्थअनुसार सञ्चालन गर्नसक्दछ । समाजको अधीनमा राज्यसत्ता भएमा मात्र समाजले त्यसलाई आफ्नो हितमा उपयोग गर्नसक्दछ । तब मात्र राज्यसत्ता लोप हुन्छ । तर विगतमा ठीक यसको उल्टो भयो । समाज, जनता, नागरिक नामको केही चीज बाँकी रहेन, अजङ्गको भीमकाय, दैत्याकार राज्यसत्ता मात्र रह्यो ।
छबिराज जोशी (सुन्दर सुदुर पश्चिम् नेपाल)