दसैंपछिको ठूलो पर्व भनेर तिहारलाई चिनिन्छ । तर, तिहार मानव सभ्यतासँगै विकास भएको सांस्कृतिक पर्व हो । त्यति मात्रै होइन । तिहार पर्यावरणीय दृश्टिकोणले पनि महत्त्वपूर्ण छ । पछिल्ला दिनमा बजारीकरणले तिहारको मौलिकता नै ओझेलमा पर्दै गएको एकथरीको गुनासो छ । तिहार पौराणिक र ऐतिहासिक सन्दर्भसँग जोडिएको पर्व पनि हो ।
तिहार र पर्यावरण
तिहार भनेकै पशुपंक्षीको माया र संरक्षण गर्ने विशेष अवसर हो । पर्यावरण भनेको ऋतुफल हो । शरद ऋतु कटुस, बयर, बिमिरो, बेलौती, अदुवालगायतका फल पाक्ने समय हो ।
बिमिरो उपेक्षित फल हो । कसैले रोपेको हुँदैन । यो आफैं वनजंगलमा फल्छ । यस्तै उपेक्षित फल बिमिरो तिहारमा प्रयोग गर्ने गरिने महत्त्वपूर्ण फल हो ।
विज्ञान र प्रविधिको विकाससँगै झिलीमिली (झाड) बत्तीको जमाना आयो । यसले आँखालाई कमजोर बनाउँछ । परम्पराअनुसार बिमिरोको पातमा गोबर राखेर तोरीको तेलमा बत्ती बाल्नुपर्ने हो ।
पर्व र परम्परा मान्ने सवालमा आधुनिक विज्ञान प्रविधिले आविष्कार गरेको उपलब्धिलाई प्रचलनमा ल्याउनै हुँदैन भन्ने पनि होइन । पर्व र संस्कृति मान्ने विषय समय, परिस्थिति, परिवेश र अवस्थाजस्ता कुराले परिमार्जन गर्दै लग्छ ।
तर, बिमिरोको पातमा बालेको बत्तीको प्रकाशले मानिससहित जीवजन्तुका आँखामा भएका किटाणु हटाउँछ । र, आँखामा लाग्ने विभिन्न प्रकारका रोग लाग्न नदिई आँखाको ज्योतिलाई संरक्षण गर्छ ।
तिहारमा बत्ती बाल्दा जाँतो, ढिकी, गग्रेटोलगायत सम्वेधनशील ठाउँमा बालिन्छ । परम्परागत रूपमा जाँतो र ढिकी अन्तपातलाई खान योग्य बनाउने ठाउँ हो । यस्तै गग्रेटो भनेको पानीको भाडो राख्ने स्थान हो । अन्नको भकारी राखिएको स्थानमा पनि बत्ती बालिन्छ ।
यसका विशेषगरी दुईटा अर्थ छन् । बिमिरोको पातमा बत्ती बाल्दा पर्यावरण सफा हुन्छ । मानिसले आफूलाई सहयोग गर्ने ठानेका पशुपंक्षीदेखि अन्य उपयोगी साधनको छेउछाउ उज्यालाे बनाइन्छ ।
परम्परागत रूपमा यसरी बत्ती बाल्दा बिमिरोको पात प्रयोग गरिन्छ । यसलाई द्रव्य भनिन्छ । हिजोआज द्रव्य भनेर सुन, चाँदी, हीरा, मोती, पैसाजस्ता उपभोग्य र विनियमका साधनलाई चिन्ने गरिन्छ । तर, परम्परागत रुपमा द्रव्यको स्थान बिमिरोको पात थियो ।
पछिल्लो समय ओखर, किसमिस काजुलाई भाइ मसलाको रूपमा प्रयोग गरिन्छ । यो आयातित मसला हो । खासमा तिहारमा सेल पोल्ने गरिन्छ । त्यही सेल नै भाइ मसला मानिन्थ्यो ।
अहिले भटमासलगायतका तेलमा सेल पकाइन्छ । तर, सेल घिउमा पकाउनुपर्छ । घिउमा पकाएको सेलबाट सुगन्ध निस्कन्छ । ताइबाट निस्कने सुगन्ध वातावरणमा फैलन्छ । यस्तो सुगन्धले वातावरणमा भएका किटाणु नष्ट हुने मान्यता छ । सेल पकाउँदा निस्कने सुगन्धले लक्ष्मी खुशी हुने कथन छ । त्यसैले दसैंको मासु भात र तिहारको रोटी भनिएको हो ।
यमपञ्चकका पाँच दिन
तिहारको पाँच दिनलाई यमपञ्चक भनिन्छ । यसको पनि विभिन्न व्याख्या र विश्लेषण गरिएको छ । यमपञ्चकको पाँच दिनले मानव सभ्यता र संस्कृतिको विकाक्रम देखाउँछ ।
पहिले मान्छे घुमन्ते थिए । एक ठाउँबाट अर्को ठाउँमा सर्थे । त्यसपछि शिकारी, पशुपालन र कृषिको विकास भयो । कृषिपछि भाइटीकाको चलन आयो । घुमन्ते, शिकारी, पशुपालन, कृषि र भाइटीकाको चरणलाई यमपञ्चक भनिएको हो ।
काग तिहार
मानिस नैतिकतामा आधारित सुसभ्य र सुसंस्कृत प्राणी हो । परापूर्वकालमा मानिस घुमन्ते युगमा भएकाले यसैको प्रतीकको रूपमा कागलाई प्रस्तुत गरिएको हो । काग एकै ठाउँमा बस्दैन । एक ठाउँबाट अर्को ठाउँमा सर्ने भएकाले मानिससँग जोडिएको हो ।
कागलाई समाचारको वाहक पनि भनिन्छ । काग दक्षिणमा उडे नोक्सान र पश्चिममा उडे दुःख, पूर्वमा उडे लाभ र उत्तरमा उडे कीर्तिको संकेत मानिन्थ्यो ।
कुकुर तिहार
कुकुर तिहारको पनि आफ्नै महत्त्व छ । कुकुरको घ्राण शक्ति राम्रो हुन्छ । कुकुरलाई माध्यम बनाएर शिकार खेलिन्थ्यो । मानिसले नदेखेको शिकारलाई कुकुरले सुँघेरै पत्ता लगाउँथ्यो । त्यसैले मानव विकासको शिकारी अवस्थासँग जोडिएकाले कुकुरको पूजा गरिन्छ ।
गाई पूजा
मानव विकासको पशुपालनको युगलाई गाईपूजाले संकेत गर्छ । घुमन्ते युगमा मानिस कन्दमूल खान्थे । त्यसपछि शिकारी युगमा प्रवेश गर्याे । शिकार गर्न कठिन भएपछि मानिसले पशुपालन सुरू गर्याे । गाईको गोबर र गहुँतमा किटाणु मार्ने शक्तिसमेत हुन्छ । त्यो युगमा गाईको मासु खाने चलन थियो । पछि द्वापर युगमा कृष्णले लक्ष्मीको प्रतीक मानेर गाई वधलाई रोकेका हुन् । गाईलाई त्यसपछि पूजा गर्न थालिएको हो ।
गोरु पूजा
गोरु कृषिसँग जोडिएको छ । गोरुले कृषि युगलाई संकेत गर्छ । मानिसले खेती गरेर अनाज उत्पादन गर्न थाले । त्यसपछि हलोको आविष्कार भयो । भीरपाखालाई गरा बनाएर खेती गर्न थालियो । कृषिमा क्रान्ति भयो । दिनभर मान्छेले खन्नुपर्ने खेत गोरुले हलो तानेर छिट्टै जोत्न थालेकाले गोरुको पूजा गरिएको हो ।
भाइटीका
यमपञ्चकको पाँचौं दिन भाइटीका हो । यो दिन मानिसको पूजा गरिन्छ । दिदी–बहिनीले दाजुभाइलाई टीका लगाउँछन् । मान्छेको सुसंस्कृत सभ्यता भाइटीकाले संकेत गर्छ ।
वैदिककालमा दाजु र बहिनीबीच यौन सम्पर्क हुने गरेको थियो । ऋग्वेदको यम सुक्तलाई लिएर विभिन्न चर्चा गरिएको छ । दाजु यमलाई बहिनी यमीले जवान भएपछि विवाहको प्रस्ताव राखेकी थिइन् । तर, दाजु यमले बहिनीको विवाह प्रस्ताव अस्वीकार गरेको भनिन्छ ।
विवाह गर्नु भनेको यौन सम्पर्क गर्नु भन्ने मान्यता थियो । दाजुले बहिनीसँग यौन सम्पर्क गर्नु हुँदैन भन्दै यमले बहिनी यमीलाई अर्कै पुरुषसँग विवाह गरेर तृप्त हुन भनेका थिए । त्यसैले भाइटीकाको सुरुवात भएको हो ।
आदिम युगमा यौन एक स्वच्छन्द थियो । हाडनाताबीच पनि यौन कार्य हुन्थ्यो । मानिसको चेतमा आएको विकाससँगै यो हट्दै गएको हो । यी पाँच चरणलाई यमपञ्चक भनिन्छ । यमपञ्चकलाई नियम पनि भनिन्छ ।
तिहार र फूल
तिहार फूलहरूको पर्व पनि हो । यो समयमा फूल फूल्ने गर्दछ । तिहारमा विशेषतः सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग गरिन्छ । नेपालमा फूल्ने सयपत्री फूलको पत्रा सय वटा हुन्छ । त्यसैले सयपत्री फूल भनिएको हो ।
असोजको अन्तिम र कात्तिकमा यी फूल फुल्छन् । तर, अहिले नेपाली बजारमा आयातित फूलको प्रयोग गर्न थालिएको छ । फूल काग तिहारदेखि भाइटीकासम्म प्रयोग गरिन्छ ।
सप्तरंगी टीका
सप्तरंगी टीका तेर्सो लगाइँदैन, याे ठाडो लगाइन्छ । कात्तिक महिनामा तुला राशिमा सूर्य गएर बसेको हुन्छ । तुला राशिको सूर्य निचो हुन्छ । निचो सूर्यको विकिरण मर्त्यलोकमा पर्छ । सूर्यको सातवटा रङ हुन्छन् । त्यसैले सप्तरंगी टीका लगाइन्छ । निचो सूर्यको दूषित विकिरणको असर कम गर्न टीका लगाउने प्रचलन सुरु भएको हो ।
ज्ञानको नेत्र खोल्नका लागि सप्तरंगी टीका ठाडो बनाएर लगाइन्छ । सप्तरंगी टीका पहिला सेतो पिठो र बेसारको लगाइन्थ्यो । अहिले बजारमा सातवटै रङ आएको छ ।
देउसीभैलो
धनी र दानी दानव राजा बलिलाई विष्णुले वामन अवतार धारण गरी पाताल पुर्याएको सन्दर्भसँग देउसीभैलो जोडिएको छ । बलिले भगवान् विष्णुलाई मर्त्यलोकमा कहिले आउन पाउने भनेर सोधेका थिए । विष्णुले यम पञ्चकको दिन आउनू भने । बली पनि धनी राजा थिए । पातालको नागलोक पनि धनी मानिन्छ । धनी राजा घुम्न आउँदा मर्त्यलोकवासीले औंसीको रातमा दियो बालेर उज्यालो बनाए, नाचगान गरे, जुवातास खेले । जे गर्दा बढी रमाइलो र महाउत्सव हुन्थ्यो, मर्त्यलोकवासीले त्यसै गरे ।
यसरी गरिएको नाचगान देउसीभैलोको रूपमा विकास हुँदै गयो । यसैलाई आधार मानेर तिहारमा जुवातास खेल्ने गरिन्छ ।
देउसीभैलोको बलि राजा जुम्लेली
देउसीभैलो खेल्दा ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने चलन छ । यी बलि राजा जुम्लाको खलंगामा भएका बलि भन्ने खस राजा हुन् । पुराणको बलि राजा भने हैनन् ।
मान्छेले आफ्ना छोराछोरी देवतालाई चढाउँथे । देवतालाई चढाइएका ती सन्तानलाई देवदास र देवदासी भनिन्थ्यो । देवदासीलाई खानको समस्या भएपछि बलि भन्ने राजाले मागेर खान भने । औंसीको दिनसम्म देवदासी र भोलिपल्ट देवदासहरूले माग भनेर राजाले आदेश दिएका थिए । अहिले पनि सुदूरपश्चिम र कर्णालीमा यसैलाई आधार मानेर देउसीभैलो खेल्ने गरिन्छ ।
त्यतिबेला माग्नका लागि भैलो र देउसीे गाउने चलन थियो । तर, अहिले आर्थिक सञ्चयका लागि देउसीभैलो खेल्न थालिएको छ । तिहार संस्कृतिसँग जोडिएको पर्व हो । तर पछिल्लो समय विकृत बन्दै गएको छ ।
शिलापत्र बाट साभार