हरि रोका
मेरो पुस्ताका संसारभरका लाखौँ मानिसले झैँ मैले पनि ‘महान् अक्टोबर क्रान्ति’को उल्लेख कलिलै उमेरमा सुनेको थिएँ । तर, अक्टोबर क्रान्तिको जीवन्त वर्णन रहेको जोन रिडको कालजयी पुस्तक ‘टेन डेज द्याट सुक दी वल्र्ड’ पढेपछि त्यसबारे विस्तारमा बुझेँ र त्यसपछि ममा धेरै जिज्ञासाले भरिएँ । अमेरिकी पत्रकार जोन रिड अक्टोबर क्रान्तिको समयमा रुसमै थिए । उनले ‘टेन डेज द्याट सुक दी वल्र्ड’मा अक्टोबर क्रान्तिबारे आफ्नै आँखाले देखेको घटनाक्रम लेखेका थिए । यो कालजयी पुस्तक सन् १९१९ मा अमेरिकी प्रकाशक बोनी एन्ड लाइभराइटद्वारा पहिलोपटक प्रकाशित भयो । सो पुस्तक प्रकाशनकै कारण तत्कालीन अमेरिकी राष्ट्रपति उड्रो विल्सनको प्रशासनले जोन रिडलाई देशनिकाला ग-यो । क्रान्ति किन भयो ? कुन सैद्धान्तिक वैचारिक जगमा क्रान्ति टिकेको थियो ? अन्य क्रान्तिभन्दा यो क्रान्ति कुन अर्थमा भिन्न छ ?
आदि सन्दर्भ धेरैपछि मात्र थाहा पाइयो । संसारका अन्य देशमा झैँ नेपालमा पनि रुसी क्रान्तीका उपज मानिने कृतिहरू म्याक्सिम गोर्कीको आमा र क्रान्तिपछिको निर्माणका वेला निकोलाई आस्त्रोवस्कीले लेखेको अग्निदीक्षा धेरै पढिए । तिनै पुस्तकले अन्य पुस्तकतर्फ लहस्याउन थप प्रेरित गरिरहे । सन् १९४९ को चिनियाँ क्रान्तिपछि चिनियाँ साहित्यले अक्टोबर क्रान्तिको महत्वलाई बुझ्न थप मद्दत गरे । वास्तवमै ती कालजायी साहित्य थिए, जसले जिउँदो समाजको कथालाई शब्दमा उनेका थिए ।
हामीमध्ये धेरै यीनै साहित्यमा वर्णन भएको क्रान्तिकारी रोमाञ्चबाट प्रभावित भएर नेपाली आन्दोलनमा होमिएका थियौँ । आजसम्म नेपालमा क्रान्तिकै लागि हजारौँले बलिदान गरेका छन् । सहादत प्राप्त गरेका छन् । र, हजारौँले जेल–नेलसहित कालकोठरीको यात्रा गरेका छन् । भलै कतिले बुझेर र कतिले क्रान्तिका, बलिदानीका कथा सुनेर विश्वाससाथ कम्युनिस्ट आन्दोलन र क्रान्तिमा होमिएका थिए ।
पंक्तिकारले थाहा पाउने हुँदासम्म नेपालमा दुईखाले समाजवादीको निर्माण भइसकेको थियो । पहिलो, कम्युनिस्ट आन्दोलनसँग जोडिएका समाजवादी थिए भने दोस्रो, प्रजातान्त्रिक समाजवादी । पहिलोथरीले नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । दोस्रोले उदार प्रजातन्त्रभित्र ‘समाजवाद’ मिसाएर नेपाली कांग्रेस पार्टी गठन गरेका थिए । अघिल्लो धारले क्रान्तिकारी आमूल परिवर्तनकारी धार पछ्यायो भने पछिल्लो धारले संशोधनवादी सुधारवादी धार समात्यो ।
नेपाली कांग्रेस वास्तवमा सुधारवादीभन्दा पनि उदारवादी पुँजीवादमा आधारित लोक–कल्याणकारी राज्य व्यवस्थाको पक्षधर थियो । सुरुदेखि नै उनीहरू लेनिन र उनको नेतृत्वमा सम्पन्न समाजवादी क्रान्तिको विरोधमा थिए । कम्युनिस्टहरू क्रान्तिकारी रूपान्तरणको पक्षमा उभिएकाले ती अक्टोबर क्रान्तिलाई क्रान्तिको मुहान ठान्थे, जुन क्रान्ति अहिलेसम्म पनि त्यसैअनुरूप उभिएको छ ।
औद्योगिक पुँजीवादको विकास, मजदुरको संगठित ट्रेड युनियन, कार्ल काउत्स्की, रोजा लक्जेम्बर्गलगायत प्रभावशाली नेताले नेतृत्व गरेको जर्मन सोसलिस्ट पार्टीले रुसको अक्टोबर क्रान्तिभन्दा अघि नै जर्मनमा क्रान्ति सम्पन्न गर्छ भन्ने आकँलन गरिएको थियो । त्यसको प्रभावमा अन्य पश्चिम युरोपेली मुलुकसहित रुसमा पनि समाजवादी क्रान्तिको लहर उठ्ने सम्भावना देखिएको थियो । तर, त्यसो भएन । यसको खास कारण क्रान्तिकारी र सुधारवादी समाजवादीबीचको विभाजन नै थियो (जेफ इले, फोर्जिङ डेमोक्रेसीः दि हिस्ट्री अफ दी लेफ्ट इन युरोप, १८५०–२००० ।
तुलनात्मक रूपमा औद्योगिक पुँजीवाद फस्टाई नसकेको रुसमा क्रान्ति सम्पन्न हुनु, सोचेबमोजिम औद्योगिक राष्ट्रमा क्रान्तिकारी परिवर्तन नहुनु र विश्वयुद्ध चलिरहेकै बखतमा सबै साम्राज्यवादी देशको कोपभाजनबाट क्रान्तिलाई जोगाउनु तत्कालीन समयमा सोभियत क्रान्तिको सबैभन्दा ठूलो चुनौती थियो । क्रान्ति सम्पन्न भएलगत्तै साम्राज्यवादीको सहयोगमा सञ्चालित गृह–युद्धमा क्रान्तिका नेता लेनिन गोलीको शिकार भए । तन्नम अवस्थामा पुगेको रुसलाई कुनै पनि भरपर्दो शक्तिको ऐक्यबद्धताविना सात–आठ वर्ष लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युद्धका बीच हासिल गरिएको क्रान्तिको उपलब्धिलाई जोगाउनु कुनै खेलाँची थिएन ।
बाह्य हस्तक्षेपका कारण समाजवादी समाज निर्माणका कतिपय पुराना सोचलाई पछिल्लो समय व्यवहारमा फेर्नुपर्ने परिस्थिति जन्मिएको थियो (सिला फिज प्याट्रिक, दी रसियन रेभ्युल्युसन) । अक्टोबर क्रान्ति सर्वथा नयाँ खाले क्रान्ति थियो । लेखपढ नगरेका मजदुर किसानलाई संगठित गरेर उनीहरूकै नेतृत्वमा सुरु गरिएको सर्वथा नयाँ अभ्यास थियो, त्यो । राज्य सञ्चालनमा बिल्कुलै अनुभव नभएकाहरूको क्रान्ति थियो, त्यो । अर्थात्, रुसी समाजवादी क्रान्तिअघिसम्म संसारको कुनै पनि मुलुकमा त्यस्तो क्रान्ति सम्पन्न भएको थिएन ।
जोन रिडको पुस्तक प्रकाशित भएर संसारभर प्रशारित भएपछि मात्र सामान्य मान्छेले आफ्नो हितमा, आफ्नो वर्ग र समुदायको हितमा मुक्तिका लागि विद्रोह गर्न सक्ने रहेछ, क्रान्ति सम्पन्न गर्न सकिने रहेछ भन्ने उद्घाटित हुन पुगेको थियो । त्यसपछि संसारभर धेरै क्रान्ति र प्रतिक्रान्ति भए । अक्टोबर क्रान्तिमार्फत स्थापित सोभियत संघ सन् १९९१ मा विघटन हुन पुग्यो । अहिले अक्टोबर क्रान्ति सम्पन्न भएको एक सय दुई वर्ष पुगेको छ । सोभियत सत्ता ढलेको नै २८ वर्ष भइसक्यो । नेपालमा कम्युनिस्ट पार्टी– मार्क्सवाद , लेनिनवादको सिरानी हालेर सत्ता सञ्चालन गरिरहेको छ । र, यति नै वेला विगतमा कम्युनिस्ट आन्दोलनवरिपरि रहेका समर्थक शुभेच्छुक, प्राज्ञिक, केही पूर्वमाक्र्सवादी राजनीतिज्ञ तथा नवबुझक्कड लेनिन र अक्टोबर क्रान्तिको औचित्यमाथि प्रश्न उठाइरहेका छन् ।
क्रान्तिको परिभाषा र बोल्सेभिक क्रान्ति
तुलनात्मक रूपमा छोटो अवधिमा स्थापित संयन्त्र वा व्यवस्थालाई फालेर जनताको इच्छाबमोजिम नयाँ व्यवस्था वा प्रणाली स्थापना गर्नुलाई क्रान्ति भनिन्छ । अरिस्टोटलले राजनीतिक क्रान्ति दुईखाले हुन्छन् भनेर अथ्र्याएका छन् । पहिलोमा पूर्ण वा संरचनागत परिवर्तन हुन्छ । दोस्रो, स्थापित संविधान संशोधनमार्फत गरिने खालको हुन्छ । सामाजिक तथा मानवीय इतिहासमा क्रान्ति– ‘तरिका’, ‘अवधि’ र ‘त्यसको विचारधारा’को संयोजनमा भर पर्छ । क्रान्तिको प्रभाव त्यसपछि मूलभूत रूपमा –संस्कृति, अर्थतन्त्र, र सामाजिक–राजनीतिक संस्थामा अनुभूत गर्न सकिन्छ ।
मिलिटरी डिक्सनरी एन्ड गजेटरका अनुसार, देशको संविधानमा हठात् वा बलात् गरिने संवैधानिक परिवर्तनलाई क्रान्ति भन्ने गरिन्छ । इशापूर्व पाँच सय ३६मा साइरस दी ग्रेटको नेतृत्वमा अस्सिरियन साम्राज्यको विघटन गर्दै मेदेस र पर्सियन साम्राज्यको निर्माण भएको थियो । त्यसपछि संसारमा धेरै मुलुकमा सयौँ क्रान्ति सम्पन्न भए । सन् १७७५ मा सम्पन्न अमेरिकन क्रान्ति र सन् १७८९ मा सम्पन्न फ्रान्सेली क्रान्ति, क्रान्तिहरूका माऊ क्रान्ति हुन् । यद्यपि, यी सबै पुँजीवादी क्रान्ति थिए । १९औँ शताब्दीसम्म युरोपमा सम्पन्न भएका पुँजीवादी क्रान्तिले बजार प्रणालीको त्यस्तो सञ्जाल र संस्कृतिको निर्माण ग-यो, जसले व्यक्तिगत नाफा, व्यक्तिगत हित, प्रणालीगत शोषण, अन्त्यहीन पुँजी सञ्चितीको लोभ तथा अत्याचारलाई नै बल पु-याइरह्यो । अन्ततः ती पुँजीवादी संस्कार र संस्कृतिकै मानक बन्न पुगे ।
समाजवाद त्यस असमान र दमनकारी पुँजीवादको विकल्पमा खडा गर्न खोजिएको व्यवस्था थियो । सामन्ती, सुदखोर, मुठ्ठीभर पुँजीवादी तथा साम्राज्यवादीको अधिनायकत्वलाई ध्वस्त पारेर समानता, सामाजिक न्यायमा आधारित श्रमजीवी सर्वहारा जनताको अधिनायकत्व स्थापना गर्ने सपना । पुँजीवाद सधैँ आर्थिक शोषण र झन् भन्दा झन बढी सञ्चितीमा जोड दिएको कारण संकटमूलक रहँदै आयो । यी आर्थिक मन्दी र आर्थिक संकटको मुहान बन्न पुग्यो । मानवीय मूल्य गौण हनुे, नाफामात्र प्रधान हुने र उत्पादनका साधनमाथि नियन्त्रण गर्ने पुँजीवादलाई संरचनागत रूपमै भत्काएर नयाँ मूल्य, सहकार्यको नयाँ संस्कृति, उत्पादन र उपभोगमा नयाँ ऐक्यबद्धता स्थापना गर्न पनि संसारभरकै बहुसंख्यक जनताका लागि नयाँ खालको क्रान्ति आवश्यक थियो । यसैलाई समाजवादी क्रान्तिका नामले चिनिन्छ ।
सन् १८७१ मा विफल पारिएको पेरिस कम्युनपछि नयाँ क्रान्ति सम्पन्न गर्न र समाजवाद स्थापना गर्न क्रान्तिको नयाँ रणनीति स्थापित गर्नु आवश्यक थियो । अक्टोबर क्रान्तिका लागि निर्माण गरिएको पार्टी, पार्टीमा संगठित भएर आत्मबलिदान गर्न प्रोत्सहित गर्ने सिद्धान्त र क्रान्ति सफल हुन्छ । त्यसैले क्रान्तिमा विश्वास गर भन्ने तत्कालीन ‘रणनीति’ नै पछि लेनिनवाद भनेर चिन्नित भयो । सिद्धान्ततः लेनिनवादमाथि आज प्रश्न उठाउनेहरूले लेनिनवादी विचार के हो र के होइन भन्ने छाम्न जरुरी छ । लेनिनको सिद्धान्त मूलतः संगठन र क्रान्तिका मुद्दासँग आबद्ध छन् ।
सन् १९०२ मा लेनिनद्वारा लिखित ‘ह्वाट् इज टु वी डन् ?’मा सर्वहारा वर्गलाई नेतृत्व गर्ने संगठित क्रान्तिकारी अग्रगामी पार्टीको कल्पना गरिएको छ । सन् १९१६ ‘इम्पेरियलिजम, दी हाइएस्ट स्टेज अफ क्यापिटालिजम’ लेख्दै लेनिनले आर्थिक उपार्जन र नाफाका लागि उपनिवेश निर्माण गरिएकाले पहिलो विश्वयुद्धलाई वर्गयुद्धमा रूपान्तरण गर्न सकिन्छ भन्ने निचोड प्रस्तुत गरेका छन् । सन् १९१७ मा प्रकाशित पुस्तक ‘द स्टेट एन्ड रेभुलुसन’मा उनले प्रष्ट भाषामा तथाकथित बुर्जुवा निर्वाचन र बुर्जुवा संसद्लाई ध्वस्त पारेर नयाँ खाले जनतान्त्रिक व्यवस्थाको कार्यक्रम अघि सारेका छन् ।
राज्य व्यवस्थाको विध्वंशः लेनिनले गर्ने क्रान्तिमा तत्कालीन राज्य व्यवस्थालाई भत्काउनकै लागि आह्वान गरिएको थियो । पुँजीवादी राज्यलाई ध्वंश गर्ने कुरा कुनै लुकेर गरिएको थिएन । पुरानो राज्य व्यवस्था भत्काएर नयाँ राज्य बनाउनुको अर्थ राज्यमाथि चढाइ गर्नु, जित्नु र कम्युनिस्ट राज्य व्यवस्था स्थापित गर्नु नै थियो । उनी यस कुरालाई भलिभाँती जान्थे कि बुर्जुवा प्रजातन्त्र ढोङबाहेक केही होइन । त्यसैले पूर्ण साम्यवाद स्थापनार्थ राज्यशक्ति कब्जा गर्नैपर्छ । सत्ता कसैले पनि सजिलै छाड्दैन, त्यसैले जित्नका लागि सशस्त्र क्रान्ति गर्नैपर्छ ।
वर्गशत्रु र भ्याङगार्ड पार्टीः पुँजीवादी आफ्नो सत्ता जोगाउन सबैखाले उपाय खोज्छन् । नाफा र आफ्नो बर्चस्वका लागि जुनसुकै हथकन्डा अपनाउँछन् । सत्ताको आडमा जेल–नेल मारपिट आगजनी सबथोक गर्छन् । त्यसैले बहुसंख्यक जनताका ती वर्गशत्रु हुन् । त्यसैले समाजवादीले कामदार वर्गको राज्यसत्ता निर्माण गर्न एउटा क्रान्तिकारी राजनीतिक पार्टी बनाउन आवश्यक हुन्छ भन्ने उनको दृढ सोच थियो । कार्ल मार्क्सव भन्दा उनी एक कदम अगाडि थिए । आफैँले चेतना भरेर कोही मजदुर क्रान्तिकारी हुँदैन ।
आफैँ विद्रोहमा एक्लै होमिएर पनि हुँदैन, त्यसैले उसलाई संगठित गर्नैपर्छ । उसको वर्गशत्रु पुँजीवादी व्यवस्था हो भनेर चिह्नित गर्नैपर्छ । आफ्नो र समग्र मजदुर वर्गको हित– कम्तीमा कामको समयमा काम गर्दाको सुरक्षा, दाम र आवासकै निम्ति पनि संगठित हुनैपर्छ भन्ने उनको स्पष्ट विचार थियो । उत्पादनका साधनमाथि सामूहिक स्वामित्व स्थापित गर्न क्रान्तिकारी चेतनासहितको क्रान्तिकारी पार्टी हुनुपर्ने उनको ठम्याइ थियो । त्यहीअनुसार बोल्सेभिक पार्टी संगठित थियो । नाम मात्रको समाजवादी पार्टी होइन, माक्र्सवादबाट प्रशिक्षित समग्र मजदुर वर्गको हितका खातिर जस्तोसुकै कठिन संघर्षका लागि जुनसुकै बलिदान वा मूल्य चुकाउन सक्ने पार्टीको परिकल्पनाबमोजिम नै पार्टी निर्माण हुँदै गएको थियो ।
डेमोक्रेटिक सेन्ट्रालिजमः त्यस्तो पार्टी जनवादी केन्द्रियतामा आधारित हुनुपर्ने उनको अवधारणा थियो । ग्रासरुट, सेन्ट्रल कमिटी, पोलिटब्युरोको हाइरार्की संगठनको प्रारूप थियो । छलफल बहस सबै कमिटीमा स्वतन्त्र ढंगले गर्न वा राख्न पाउने सबै कमिटीले आफूभन्दा माथिल्लो कमिटीमा आफ्ना विचार पठाउन पाउने, तर पार्टी केन्द्रले निर्णय गरेपछि निर्णय सबैले पालन गर्नुपर्ने संगठनको सैद्धान्तिक अवधारणा अगाडि सारे । क्रान्तिकारी पार्टी सिद्धान्तले मात्रै होइन, क्रान्तिका लागि अनुशासित हुन पनि जरुरी हुन्छ भन्ने सार खिचे । यो कुनै अनौठो कुरा थिएन ।
बुर्जुवाले पुँजीपति तथा सामन्तको हित रक्षाका लागि काम गर्छन् वा गर्थे भने सर्वहारा श्रमजीवी वर्गको हितका लागि उनको पार्टीले गर्ने हो । सन् १९१७ को फेब्रुअरी क्रान्ति मूलतः बुर्जुवा क्रान्ति थियो । त्यसले रुसमा तत्कालीन अवस्थामा रहेका बहुमत सामान्य जनताको पक्षमा नयाँ संरचनागत परिवर्तन गर्न सक्दैैनथ्यो । त्यो एक प्रकारको पुँजीवादी साम्राज्यवादी भुलभुलैया थियो । क्रान्तिकारी रूपान्तरणका लागि नयाँ क्रान्ति आवश्यक थियो । अप्रिल थेसिस अक्टोबर क्रान्ति सम्पन्न गर्ने कार्यक्रमकै रूपमा अगाडि सारिएको थियो । आठ महिना लामो बहस, छलफल, उतारचढाव र कसरतपछि जनसोभियतको अग्रदस्ता क्रान्तिका लागि तयार भएको थियो ।
यो कुनै लुकेको/लुकाइएको कार्यक्रम थिएन । लेनिनले आफ्नो पार्टी प्रशिक्षणमै भनेका थिए, ‘फाइरिङ स्क्वाडबेगरको क्रान्तिको कुनै अर्थ छैन ।’ त्यति मात्र होइन, लेनिन नै पहिलो नेता थिए, जसले व्यावसायिक क्रान्तिकारीको संगठन निर्माण गरे । प्रतिक्रान्तिका विरुद्ध लड्न आधुनिक ढंगले आमजनतालाई अपिल गरे । ‘मासमोबिलाइज’ गरे र त्यो आमजनसमुदायलाई राज्य तिम्रो हो र तिमीले आफ्नो वर्गको हितका लागि सबैसँग जुध्नुपर्छ भनेर प्रशिक्षित गरे । सन् १९१८ देखि १९२२ सम्म भएको गृहयुद्धमा संयुक्त राज्य अमेरिकालगायत १५ वटा साम्राज्यवादीको आक्रमणविरुद्ध जनताले साथ नदिएको भए ‘ह्वाइट गार्ड’सँगको युद्ध एक्लो लेनिनले कसरी जित्थे ? यो प्रश्नको उत्तर दक्षिणपन्थी, पुँजीवादी तथा साम्राज्यवादी साहित्यमा कहीँ भेटिन्न (लार्स टी. लिह, लेनिन रिडिस्कभर्ड ह्वाट इज टु वी डन ?
इन कन्टेक्स्ट) ।
युद्ध र समाजवादी क्रान्ति
सारा फसादको जड लेनिन हुन् । बोल्सेभिक क्रान्ति हो । फासीवाद, नाजीवाद, उदारवाद, नवउदारवादभन्दा खतरनाक माक्र्सवाद हो भन्ने दक्षिणपन्थी बुर्जुवाहरूको विश्लेषण हुनु नौलो होइन । तर, कथित माक्र्सवादी वा कथित समाजवादी अझ दशकौँ मार्क्सवाद पढेको दाबी गर्नेहरूलाई पनि यसै लाग्नु अनौठो हो ।
पिन भाम ब्री तथा ग्रिट केसल्सले स्थापना गरेको ल्याब ११०० नामको डच कम्पनीले एउटा नक्सासहितको ‘जोग्राफी अफ भ्वाइलेन्स’ नामको एउटा प्रतिवेदन सन् २०१६ मा ल्याएको छ । सो प्रतिवेदन मार्कमोलीको नाममा द इन्डेपेन्डेन्टमा २ मार्चमा प्रकाशित भएको थियो । प्रतिवेदनका अनुसार २५०० बिसीयता संसारभर १२ हजार सात सय तीन प्रमाणित लडाइँ भएका छन् । २०औँ शताब्दी सुरु भएपछि १५ करोडदेखि एक अर्ब मानिस युद्धमा मारिएको अनुमान गरिएको छ ।
सन् २००३ यता संसारभर ३० युद्ध भएका छन् (क्रिस हेजस, ह्वाट एभ्री पर्सन सुड नो अवाउट वार, ६ जुलाई २००३, न्युयोर्क टाइम्स) । यी उल्लेख गरिएका ३० युद्धयता मात्रै सिरिया, लेबनान, मिश्र, यमन आदि दर्जनभन्दा बढी देशका विभिन्न ठाउँमा युद्ध भएका छन् । त्यसैगरी, भियतनाम, कोरिया, अफगानिस्तान, इराक, लिबिया आदि देशमा अमेरिकाले थोपरेको युद्ध र त्यसले मानवतामाथि निम्त्याएको भयानक संकटलाई त बिर्सनै मिल्दैन ।
संसारमा जति पनि युद्ध भए र अर्बौं मानिस मारिए थोरै मानिसको सुखसयल र मोजमस्ती तथा धन कमाउने लोभका कारणले भए । यस्तो लोभ लालच, भय र इस्र्या जन्माउने युद्धको विरुद्ध गास, बास कपासको पहिलो नारा लगाउने श्रेय लेनिनलाई नै जान्छ । उनी पहिलो विश्वयुद्धको सबैभन्दा ठूलो संगठित विरोधी थिए । सयौँ गल्तीका बाबजुद दोस्रो विश्वयुद्धको सुरुवात सोभियत संघले गरेको थिएन । त्यो विश्वयुद्ध पनि पुँजीवादी लोभ र पुँजीवादी हैकमकै लागि साम्राज्यवादीले रचना गरेका थिए । हिजोआज पनि दर्जनाँै लडाइँ भइरहेका छन् । ती युद्ध समाजवादले गर्दा भएका हुन त ? लेनिनले चिहानबाट निस्किएर गराएका हुन त ? साम्राज्यवादी पुँजीवादी तथा तिनका दलालले त्यो पनि भन्न हिचकिचाउँदैनन्, तर हामीले यसमा सचेततापूर्वक प्रश्न गर्नैैपर्छ ।
क्रान्तिपछि क्रान्ति उल्ट्याउन धेरै लागे, लागिरहन्छन् । रुस अपवाद हुने कुरै भएन । लेनिनपछिको पुस्ताले जनतासँगको सम्बन्ध छोड्दै गयो । पार्टी र संस्थालाई कर्मचारीको झुन्डमा परिणत गर्दै लगे । जनतासँग सम्बन्ध बिग्रँदै गएपछि समाजवादी व्यवस्था धोद्रिँदै गयो । जनताको पार्टी नबनेपछि त्यो ढल्यो । २८ वर्ष बितिसकेको छ, सोभियत संघ र पूर्वी युरोपमा समाजवाद ढलेको । समाजवाद म¥यो भन्ने पनि निस्किए । यद्यपि, केही वर्षयता संकटग्रस्त पुँजीवादको विकल्प समाजवाद नै हो भन्ने स्थापित हुँदै गएको छ ।
लेनिनले मृत्युवरण गरेको ८५ वर्षपछि पनि चीनमा जनवादी केन्द्रियताका आधारमा कम्युनिस्ट पार्टी चलिरहेकै छ । आन्तरिक जनवादको अभ्यास नभएको भए १० करोड सदस्य भएको कम्युनिस्ट पार्टी कसरी टिक्न सम्भव थियो ? एक अर्ब ४० करोड मानिस उदाउँदो चीनको नागरिक भएकोमा कसरी गौरव बोध गर्थे होलान् ? र, चीनमा समाजवादउन्मुख अर्थतन्त्र नभएको भए ७५ करोड मानिस आमगरिबीबाट कसरी उकासिन्थे होला ? यसको अर्थ सरल र सहज छ । बुर्जुवा, संसद्वादी प्रजातन्त्र मात्र प्रजातन्त्र होइन । त्यसको विकल्प छ र अझ बढी मानवीय र प्रजातान्त्रिक व्यवस्था समाजवादमा स्थापित गर्न सकिन्छ ।
एक दर्जन मुलुकमा अहिले आन्दोलन चलिरहेको छ । सबैभन्दा बढी पुँजीवादी साम्राज्यवादी थिचोमिचोमा परेको चिलीमा क्रान्तिको ज्वाला दन्किएको छ । स्वयं अमेरिकामा बर्नी स्यान्डर्स समाजवादको नारा लगाइरहेका छन् । ४७ प्रतिशत अमेरिका आज समाजवादको झन्डा ओढ्न तयार छ । जेरेमी कोर्बिनको नेतृत्वमा लेबर पार्टी चुनावी मैदानमा भिडेको छ । सशक्त भएर, संगठित भएरै उनीहरू भिडिरहेका छन् ।
विगतमा धेरैवटा विद्रोह र क्रान्ति भए । उदाहरणका लागि पश्चिम एसिया र उत्तर अफ्रिकी मुलुकलाई लिन सकिन्छ । यी अनुभवबाट के थाहा लाग्यो भने अनुशासित, क्रान्तिकारी रूपान्तरणको सोच भएको, संगठित भ्याङगार्ड पार्टी नहुँदा बलिदान खेर जाँदो रहेछ । क्रान्तिको लगत्तै प्रतिक्रान्ति हुँदो रहेछ । पार्टी संगठन दुर्बल हुँदा आममानिसको निर्वाचित हुने अधिकार खोसिन्छ । हामी जित्छौँ, जित्नुपर्छ भन्ने मान्यता बोकेको पार्टी नहुँदा जित हुँदैन । यसको अर्थ तमाम कमजोरीका बाबजुद लेनिनको नेतृत्वको अक्टोबर क्रान्तिको औचित्य अझ सबल र परिपक्व बन्दै छ । आजका क्रान्तिकारीले बुझेका छन्, क्रान्तिको फोटोकपी हुँदैन, तर क्रान्तिप्रतिको विश्वास भर्न, आमजनताको पक्षमा अझ बढी समर्पित हुन अक्टोबर क्रान्तिबाट प्रेरणा लिन सकिन्छ । समाजवादी क्रान्ति अपरिहार्य छ ।
अक्टोबर क्रान्ति लालसलाम ! नया पत्रिका बाट साभार