नेपाल–भारत सम्बन्ध सयौं वर्ष पुरानो हो । यो सम्बन्धलाई कुनै कुराबाट हल्लिन दिनु हुँदैन, जुन दुवै देशको क्रियाकलापमा भर पर्छ । त्यसका निम्ति— पहिलो, भारतले हालै प्रकाशन गरेको नयाँ संस्करणको नक्साको विवरणमा आफूले जानीनजानी ओगटेको नेपालको लिम्पियाधुरासम्मको कालापानी–लिपुलेक क्षेत्र आफ्नो भूमिमा मिसाएकाले दुई देशको सुमधुर सम्बन्धमा चिसोपना हुन दिनु हुँदैन । यही कारण २०७२ को भारतीय नाकाबन्दीको असरले पारेको जस्तो नेपाल–भारत सम्बन्धको ग्राफ तलतिर ओर्लिन दिनु हुँदैन । । दोस्रो, आपसी मित्रताका आधारमा भारतले नयाँ नक्सामा नेपालको पश्चिमी सीमा संशोधन गरी नेपाल र ब्रिटिसकालीन सुगौली सन्धिको भावनालाई सार्थक पार्नुपर्छ । तेस्रो, वर्तमान भारतले तत्कालीन ब्रिटिसकालीन इस्ट इन्डिया कम्पनी सरकारको विरासत बोकेको कुरा बिर्सनु हुँदैन ।
चौथो, दुवै देशको परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई जागरुक बनाएर वार्ताद्वारा पुराना नक्सा दस्ताबेजका आधारमा समाधानका उपाय खोजिनुपर्छ । यसका लागि नेपालको चतुर सीमा कूटनीति आवश्यक पर्छ । पाँचौं, नेपालको संविधान संशोधनका क्रममा पुस्तकको आवरणको पहिलो पृष्ठमा, नभए चौथो पृष्ठमा नेपालको शुद्ध नक्सा राख्नुपर्छ । अनुसूचीमा ७५ को बदला ७७ जिल्ला र ५ विकास क्षेत्रको बदला ७ प्रदेशको सीमा कोरिएको नक्सा संलग्न गर्न चुक्नु हुँदैन । छैटौं, नेपालले आफ्नो राष्ट्रको आधिकारिक नक्साको आउँदो संस्करणमा पश्चिम–उत्तरी सीमा लिम्पियाधुरासम्म पुर्याउँदा अतिशयोक्ति हुँदैन । र सातौं, नेपाल र भारतबीचको आपसी दौत्य सम्बन्ध सदा सुदृढ र प्रगाढ पार्न आपसी वार्ता, विश्वास, समझदारी र समन्वयमा भारतीय नयाँ नक्सामा कोरिएको सीमारेखा सुधार/संशोधन गरी सदाका लागि समाधान गरिनुपर्छ । ekantipur.com बाट साभार