इन्टरनेट र मोबाइलको पहुँच विस्तारसँगै विश्वभर पत्रिकाका पाठक, टेलिभिजनका दर्शक र रेडियोका श्रोता घटेका छन्। सामाजिक सञ्जाल र अनलाइनमा पाठक, श्रोता र दर्शक झुम्मिएका छन्। पत्रिका, टेलिभिजन र रेडियोका विज्ञापन अनलाइन र सामाजिक सञ्जालमा केन्द्रित हुन थालेका छन्। इन्टरनेट र प्रविधिको पहुँचले सबै लोकल मिडियालाई ग्लोबल र ग्लोबललाई लोकल बनाइदिएको छ। विगतमा जस्तो मिडियालाई स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय भनेर वर्गीकरण गर्न सक्ने अवस्था छैन। आजको युगमा सबै मिडिया लोकल हुन्, सबै मिडिया ग्लोबल हुन्।
स्थानीय, क्षेत्रीय वा राष्ट्रिय भनिएका मिडिया सञ्चालक र मिडियामा काम गर्नेहरूका लागि ग्लोबल स्तरको सूचना सामग्री पस्किनुपर्ने चुनौती थपिएको छ। एकातिर मिडियामा आम्दानी घट्दै जाने र अर्कातिर गुणस्तरीय र ग्लोबलस्तरीय सूचना सामग्री पस्कनुपर्ने चुनौतीका बीच मिडिया टिकिरहेका छन्। मिडियाका पाठकभन्दा दर्शक र श्रोता बढी हुन थालेका छन्। युवा पुस्ता मोबाइलभन्दा बाहिर जान चाहिरहेको छैन भने पाका पुस्ताले रुचाएर मात्रै पत्रिका, रेडियो र टेलिभिजन टिक्न मुस्किल हुन्छ। सजिलो, छिटो, पहुँचमा रहने भएकाले पनि मल्टिमिडियाप्रति पाठक, श्रोता र दर्शकको रुचि बढेको छ। युवा पुस्ता मोबाइलमा झुम्मिन्छ भने पत्रकारहरूले मोबाइललाई प्रयोग गरेर आफ्नो पत्रकारिता पेसालाई आधुनिक र प्रविधिमैत्री किन नबनाउने ? जब पाठक, श्रोता र दर्शक मोबाइलमा छन् भने त्यही मोबाइललाई मिडियाले प्रयोग किन नगर्ने ? यद्यपि मोबाइलबाटै पत्रकारिता गर्ने पत्रकारहरूको संख्या नेपालमा निकै कम छ। अब यो संख्या बढ्दै जानेछ।
मोबाइललाई अधिकतम उपयोग गराएर फोटो, भिडियो र अडियो खिचेर सम्पादन गर्ने कला पत्रकारहरूलाई सिकाउन आवश्यक छ। कम खर्चमा पत्रकारितालाई गुणस्तरीय बनाउन मोबाइल पत्रकारिताले सहयोग गर्नेछ। पत्रिका, रेडियो र टेलिभिजनलाई मल्टिमिडियामा लैजाँदा मात्रै पाठक, श्रोतालाई आफ्ना सूचना सामग्री पढ्न, सुन्न र हेर्न सक्ने बनाउन सकिन्छ। जहाँ पाठक, श्रोता र दर्शक झुम्मिन्छन्, विज्ञापनदाताको ध्यान पनि त्यतै केन्द्रित हुनु स्वाभाविक हुन्छ। पत्रिका, रेडियो र टेलिभिजनले पाइरहेका विज्ञापन अहिले अनलाइन र सामाजिक सञ्जालमा केन्द्रित हुनुको मुख्य कारण नै पाठक, श्रोता र दर्शकको ध्यान त्यतातिर केन्द्रित हुनुले हो।
मोबाइल पत्रकारिता, पत्रकारिताको नयाँ अभ्यास हो। बदलिँदो विश्व परिस्थितिसँगै पत्रकारको सीप र क्षमता वृद्धिमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक हुन्छ। आफ्नो पेसालाई व्यवस्थित र मर्यादित बनाउन पनि हामीले पत्रकारितालाई अपडेट गराउँदै लैजानुपर्ने हुन्छ। पछिल्ला दिनमा मोबाइलबाट गरिने पत्रकारिताको अभ्यास विश्वका प्रसिद्ध मिडियाले पनि प्रचलनमा ल्याएका छन्। बीबीसी, सीएनएनजस्ता टेलिभिजनले पनि मोबाइलबाट खिचिएका फुल एचडी भिडियो प्रयोग गर्न थालेका छन्। मोबाइलबाट खिचिएका भिडियोले भारतीय मिडियामा पनि प्रशस्तै स्थान पाउन थालेका छन्।
पत्रकारसँग हुने स्मार्ट मोबाइललाई प्रयोग गरेर पत्रकारितालाई सजिलो बनाउन हामीले मोबाइल पत्रकारिताको तालिम चलाएका हौं। इन्टरनेटमा सहजतासँगै मल्टिमिडियाको अभ्यास बढिरहेको सन्दर्भमा पत्रकारहरूलाई अपडेट गराउन पनि मोबाइल पत्रकारिताको तालिम आवश्यक छ। एउटा पत्रकार जुनसुकै ठाउँ वा घटनास्थलमा पुग्दा उसले मोबाइलबाटै पत्रकारिता गर्न सक्ने अवस्था सिर्जना गराउनु पनि यो तालिमको उद्देश्य हो। सीमित स्रोत साधनबाट अधिकतम उपलब्धि हासिल गर्न सिकाउँदा अतिरिक्त स्रोत साधन हुँदा पनि त्योभन्दा राम्रो प्रतिफल दिन सक्ने हुन्छ। पत्रकारहरूलाई सक्षम बनाउँदा पत्रकारको बार्गेनिङ क्षमता बढछ र पारि श्रमिक पाउने अवस्था हुन्छ। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुने अवस्था सिर्जना हुन्छ।
ग्लोबलस्तरको सूचना सामग्री मिडियामा आउन सक्ने बनाउनका लागि पनि पत्रकारहरूलाई सक्षम बनाउन आवश्यक छ। नेपालमा मिडियाको संख्या बढाउने भन्दा गुणस्तरीय सूचना सामग्री बढाउनुपर्ने आवश्यकता देखिएको छ। मिडियाले पनि अब आफूलाई अब्बल सावित गराउनका लागि गुणस्तरीय सामग्री पस्कनुपर्ने हुन्छ। त्यसका लागि दक्ष जनशक्ति कि त मिडिया आफैंले तयार पार्नुपर्ने हुन्छ कि त दक्ष जनशक्ति भर्ना लिन प्रतिस्पर्धा बढाउनुपर्छ।
सोसल मिडियाले ब्रेक गरिसकेका समाचारलाई अनलाइनले तथ्यपरक र विस्तृत समाचार सामग्री पस्कनेतर्फ ध्यान दिनुपर्छ।
मल्टिमिडियामा काम गर्न नसक्ने पत्रकारलाई अबको युगमा पत्रकारितामा टिक्न मुस्किल पर्दै जानेछ। भारत र पाकिस्तानमा मल्टिमिडियामा काम गर्न नसकेका कारण पत्रकारहरूको जागिर नै खोसिन थालेको छ। त्यो अवस्था नेपालमा आउन धेरै समय कुर्नु पर्दैन। पत्रकारको पेसागत सुरक्षाका लागि पनि उनीहरूका सीप र क्षमता बढाउन आवश्यक हुन्छ। पत्रकारहरूले पनि आफ्नो सीप र क्षमता बढाउने कुरामा आफूलाई समर्पित गराउनुपर्नेछ।
मोबाइलबाट गरिने पत्रकारिता कामचलाउ हो। यो मात्रै पर्याप्त हुँदैन। मोबाइलमा सिकेको सीपलाई कम्प्युटरमा गर्न सकिन्छ। आवश्यकताअनुसार आफ्नो क्षमता आफैं बढाउनुपर्ने हुन्छ। तर मोबाइलबाट गरिने पत्रकारिताले मल्टिमिडियामा काम गर्ने उत्सुकता भने बढाउँछ। मोबाइलबाट खिचिएको भिडियो हल्लिँदा एडभान्स क्यामराबाट खिच्न पाए हुन्थ्यो भन्ने लाग्छ। मोबाइलमा भिडियो सम्पादन गर्दा यसलाई कम्प्युटर वा ल्यापटपमा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। मोबाइल पत्रकारिताले पत्रकारलाई मल्टिमिडिया सिक्ने भोक भने पक्कै जगाउँछ। अत्याधुनिक प्रकृतिका उपकरण उपलब्ध हुँदा त्यसैलाई प्रयोग गर्ने हो। ती उपकरणलाई मोबाइल पत्रकारिताले विस्थापित गराउँदैन र गराउन सक्दैन पनि।
मोफसलमा भएका पत्रकारहरूले आफ्नो मोबाइल प्रयोग गरेर ग्रामीण क्षेत्रका सूचनालाई सहरमा ल्याउन ठूलै योगदान पु¥याउन सक्छन्। अत्याधुनिक क्यामरा बोकेर गाउँमा पुग्ने सम्भावना न्यून हुन्छ। त्यस्तो अवस्थामा गाउँका सूचना छायामा परिराख्नु हुँदैन। मोबाइलबाट खिचिएका भिडियोका बारेमा थप विस्तृत रिपोर्ट बनाउन चाहनेका लागि अत्याधुनिक क्यामरा लिएर त्यही ठाउँमा रिपोर्टिङ गर्न जान उत्प्रेरित पनि गर्छ।
मोफसलबाट पत्रकारिता गर्नेहरूका हकमा भने मोबाइललाई पनि धेरै हिसाबले उपयोग गर्न सकिन्छ भन्ने देखाउन खोजिएको हो। सञ्चार रजिस्ट्रारको कार्यालयले पहिलोपटक सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र काभ्रेका २० जना पत्रकारलाई मोबाइलबाट पत्रकारिता गर्न सिकाएको छ।
पहिले कागजमा समाचार लेखेर सम्पादन गरिन्थ्यो, अहिले कम्प्युटरमा लेखिएका समाचार नेटवर्किङ गरी सम्पादन गरिन्छ। अबका दिनमा विश्वका कुनै पनि कुनामा बसेर गुगल डकमार्फत समाचार लेख्ने र सम्पादन गर्ने अभ्यास बढ्दै जानेछ। पत्रकारहरू प्रविधिमैत्री हँुदै जानु भनेको उनीहरूले आफूलाई आफ्नो पेसामा अब्बल बनाउनु पनि हो।
मोफसलमा सञ्चारमाध्यमले पाइरहेका सुविधा कटौती नहुने गरी मर्जरमा जान उत्प्रेरित गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुनेछ। मर्ज गरिएमा एक वा दुई वर्ष ती पत्रिकाले पाएको सुविधामा कटौती नगरी मर्जरमा जान उत्प्रेरित गर्नु उपयुक्त हुन्छ। बुटवलमा तीनवटा पत्रिका मर्ज भएका छन। व्यक्तिपिच्छेका मिडिया चलाउनुको सट्टा गुणस्तरीय मिडिया चलाउनमा लगानी र जनशक्ति केन्द्रित गर्नु सबैको हितमा हुन्छ।
लगानी र दक्ष जनशक्ति एक ठाउँमा केन्द्रित गर्दा त्यसले दिने प्रतिफल गुणस्तरीय हुन्छ। नयाँ र पुराना जनशक्तिलाई तालिम दिएर अपडेट गराउँदा त्यो जनशक्तिले तयार पार्ने सूचना सामग्री गुणस्तरीय हुनेछन्। त्यसो हुँदा कोही पेसाबाट विस्थापित हुनु पर्दैन। पंक्तिकार अन्नपूर्ण पोस्ट् दैनिकमा कार्यरत रहँदा तीन वर्षअघि चीनको साङ्घाईमा मल्टिमिडिया अध्ययन गर्ने अवसर प्राप्त भएको थियो। यतिबेलासम्म आइपुग्दा मल्टिमिडियाविना पत्रकारिता अगाडि बढ्नै नसक्नेजस्तो हुन थालेको छ। पाठक, श्रोता र दर्शकका रुचिअनुसारका सामग्री पस्कन पनि मल्टिमिडियालाई उपयोग गर्नैपर्ने परिस्थिति सिर्जना भएको छ।
इन्टरनेटमा सहज पहुँचसँगै अनलाइन मिडियाको प्रभाव बढेको छ। अनलाइन मिडियाले आफ्नो विश्वसनीयता बढाउनुपर्ने चुनौती छ। इन्टरनेटले उपलब्ध गराएको सहजतालाई पत्रकारिताले भरपूर उपयोग गर्न सक्नुपर्छ। इन्टरनेटलाई सकारात्मक रूपमा प्रयोग गर्न सक्नुपर्छ। सोसल मिडियाले ब्रेक गरिसकेका समाचारलाई अनलाइनले तथ्यपरक र विस्तृत समाचार सामग्री पस्कनेतर्फ ध्यान दिनुपर्छ। विश्वसनीयता गुम्नेबित्तिकै मिडिया र पत्रकारले आफूलाई पेसामा टिकाइराख्न सक्दैन। त्यसैले पत्रकार र पत्रकारिताले विश्वसनीयतालाई शिरमा राखेर अगाडि बढ्नु नै हितकर हुनेछ।अन्नपुर्ण बाट साभार
—सापकोटा प्रदेश ३ का सञ्चार रजिस्ट्रार हुन्।