कञ्चनपुर । सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा बहालवाला उपकुलपति र रजिस्ट्रारलाई पदमुक्त गर्दै निमित्त उपकुलपति र रजिस्ट्रार नियुक्त गरेपछि नेपाल विद्यार्थी संघले पाँच महिनादेखि लगाएको ताला अझै खोलेको छैन । तत्कालीन उपकुलपति डा. भूषण श्रेष्ठ र रजिस्ट्रार डा. द्विजराज भट्टलाई सरकारले २७ पुस ०७५ मा पदमुक्त गर्दै निमित्तमा क्रमशः डा. पूर्णबहादुर चन्द र डा. गोविन्दसिंह विष्टलाई नियुक्त गरेको थियो । त्यसको विरोधमा नेविसंघले महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूलगेटमा २७ चैतमा तालाबन्दी गरेको थियो ।
नेविसंघले राम्रो काम गरिरहेका उपकुलपति र रजिस्ट्रारलाई कारबाही गरेर विश्वविद्यालयविरोधी पूर्णबहादुर चन्दलाई उपकुलपति बनाएको भन्दै विरोध गरिरहेको छ । विश्वविद्यालयमा लगाएको ताला खोल्ने छाँटकाँट देखाएको छैन । बरु, दैनिक प्रशासनिक काम सञ्चालन हुँदै आएको रजिस्ट्रारनिवासमा पनि ८ साउनदेखि नेविसंघले ताला लगाइदिएको छ । यसले विश्वविद्यालयमा समायोजन भएका १४ आंगिक क्याम्पससहित केन्द्रीय क्याम्पसको सुधार तथा भावी योजनाका लागि बस्नुपर्ने सिनेट बैठकसमेत अनिश्चित बनेको छ ।
तालाबन्दीले चालू आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम प्रभावित भएको विश्वविद्यालयका प्रमुख प्रशासक गोविन्दबल्लभ पन्तले बताए । भदौभित्रै ताला खोलेर सिनेट बैठक नबोलाए समस्या जटिल बन्ने उनको गुनासो छ । १३ साउनमा सिडिओ सुशीलकुमार वैद्यको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि रजिस्ट्रारनिवासको ताला खोल्ने सहमति गरे पनि नेविसंघले उल्लंघन गरेको उनको आरोप छ ।
‘अघिल्ला उपकुलपति र रजिस्ट्रारलाई पदीय जिम्मेवारी बहन नगर्ने पत्र सरकारबाट आएपछि दैनिक कामकाज सञ्चालनका लागि मात्रै उपकुलपतिमा चन्द र रजिस्ट्रारमा विष्टलाई निमित्त जिम्मेवारी दिइएको हो । दुई–दुई उपकुलपति र रजिस्ट्रार भएको होइन,’ प्रशासक पन्तले भने, ‘तर, नेविसंघले विरोधमा तालाबन्दी गर्दा धेरै समस्या भएको छ । केन्द्रीय कार्यालयमा लामो समयदेखि तालाबन्दी थियो, त्यहाँबाट दैनिक प्रशासनिक कामकाज नहुँदा हामीले रजिस्ट्रारनिवासबाट काम गरिरहेका थियौँ । त्यहाँ पनि तालाबन्दी गरेपछि काम ठप्प भएको छ । सिडिओको अध्यक्षतामा बसेको बैठकको निर्णय पनि नेविसंघले पालना गरेन ।’
तर, नेविसंघले भने विश्वविद्यालयले वार्ताको पहल नै नगरेको दाबी गरेको छ । वार्ताका लागि विश्वविद्यालयले औपचारिक पत्र पठाउनुपर्ने माग गरेको छ । उसले विश्वविद्यालयमा भइरहेको बेथितिविरुद्ध तालाबन्दी गरेको जनाएको छ । नेविसंघ सुदूरपश्चिम विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले उपकुलपति र रजिस्ट्रार हुँदाहुँदै विश्वविद्यालयविरोधी उपकुलपति र रजिस्ट्रार नियुक्ति गरेर विवाद निम्त्याइएको बताए ।
‘हामीले विज्ञान क्याम्पससहित सबै सुपमा समायोजन हुनुपर्छ भन्दा विज्ञानका तत्कालीन क्याम्पसप्रमुख पूर्णबहादुर चन्दले विरोध गरे । अहिले विश्वविद्यालयको वागडोर उनकै हातमा सुम्पिदिए,’ विद्यार्थी नेता चन्दले भने । उपकुलपति डा. पूर्णबहादुर चन्दले भने आफू नेविसंघले आरोपित गरेजस्तो विश्वविद्यालयविरोधी नभएको बताएका छन् । नया पत्रिका मा मोहन विष्टले कंचनपुर बाट लेखेका छन्