- सुनिल बोगटी ‘ज्योतिर्मय क्रान्ति’
सात वर्षकी मेरी दिदी
आफुभन्दा ठूलो
घाँसको डोको ल्याई
तीन वर्षको मलाई
पिठ्युँ लगाई
गाउँ डुल्थी
हामी माटाका भाँडाकुँडी बनाउँथ्यौ
माटाकै खाना अनि माटाकै घर
धौलीले बिगार्दा मेरो फुच्चे घर
दिदीले उसलाई सोत्तार पार्थी
त्यसैले फुर्केको म
यति यति पानी गंगे रानी
गुच्ची आराम पातो
सबैमा गर्थे मनोमानी
आउट भएनी आउट हुँदैनथे
झेल्ली गर्थें म
किनभने थियो मलाई पतो
दिदि मेरै पक्षमा हुन भनि ।
म स्कुल जाँदा
कर गर्थें दिदीलाई पनि
आमा भन्नुहुन्थ्यो
अर्काको घर जाने जात
दिदी टिठ लाग्दो आँखाले हेर्थी
स्कुले ड्रेसमा सजाउँदा मलाई
म महशुस गर्थें
ऊ म भन्दा धेरै मेरै ड्रेसलाई
सुम्सुम्याउथी ।
आकलझुकल कहिले काहीं
म उसका झम्पर लगाउँथे
क्रिम पाउडर चक झैँ दल्थे
सुनौला चुरा रिङ्ग झैँ खेल्थे
तर
उसले कहिल्यै मेरो स्कुले सामान
लगाईन, दलिन, खेलिन
यी रहरले नभई बाध्यताले थे
किनभने स्कुल कम्पाउन्ड बाहिर
ऊ मलाई नियाल्दै मसँग
गोडा फाट, सतर्क गर्थी
गम्भीर हुन भुलेका
नेपालीका लागि
श्रीमान गम्भीर नेपाली
प्रचण्ड प्रतापी भुपती
गाउँथी
मेरो सिको गर्दै
I’m Boy भन्थी ।
सायद उसलाई I’m girl
भनी सिकाउने कोही थिएन ।
पहिलो चोटी रजस्वला हुँदा
उसले छाउपडी गोठमा
बस्ने दिन नि आए
बालापनमा घरकुडी खेल्दा
छुई हुन जति रमाइलो थियो
तेती फिटिक्कै भएन यो बेला
उ दिनभरी रोई
साउने भेल उर्लाई
साँझ यो सानो भाई
भर दिन दिदीलाई
गोठमा सँगै सुत्यो
छाती चिस्याउने सिरौटो पुषको
काटेर भोलि
एका बिहानै चिसो पानीले नुहाए
आफैलाई सुनपानीले छर्काए
र म चोखिए ।
तर दिदीलाई कैयौं दिन बस्नु थियो
उही अदि मानवले बस्ने गोठमा
आँखा निभाउने रातहरुमा
शरीर कक्राउने रातहरुमा
राता मान्छेले बूट बजार्ने रातहरुमा
राता मान्छेहरु बढ्दै गएपछि गाउँमा
कर गरि दिदीले नै पठाई मलाई सहरमा
आइरहेका कैयौं भाईटिका लत्याएर
मेरो प्राण रक्षार्थ ।
दिदी १६ हुँदा
भन्ने गरिएको अर्काको घर गईन
रातो चुरा अनि रातो घुम्टीमा
मलाई रिस उठाईन
खबर नपुगाउँदा सहरमा
तर त्यो भन्दा बढी डर लगाईन
कहिँ कतै १७ टेकेकी धौली
जसरि बितिन आमा हुने बेला
तेसैपो छ कि रु दिदीको भोलि
डर नलागोस पनि किन रु
प्रजनन स्वास्थका किताब
उसको डोकोमा कहिल्यै अटाएनन
अटाए त थुप्रै दुःखहरु
जसमा थपियो सेतो दाग
र फुटेका राता चुरा ।
जनयुद्दताका
स्कुलमा क. ख …
पढाईरहेका भिना मेरा
सुराकी कहलिए
समातिए र वेपता पारिए ।
अहिलेसम्म घर फिरेका छैनन् उनी
श्वास त परै जाओस्
लाशको पनि आश छैन
त्यसैले पनि फुटेका ती राता चुरा
र सरकारमा फेरी छौ तिमी
होईन क्यारे !
सरकारमा फेरी होईबक्सन्छ हजुर !
माननीय सम्माननीय हजुरको
स्तुती गाउँदा सुनीबक्सन्छ की ?
यो दुःखियाको कथा
श्रीमान गम्भीर नेपाली
“प्रचण्ड” प्रतापी भुपती ।
सधैं यस्तै त हो
गरिब दिनदुःखिको कथा
हामी पो फाल्तु छौ
फुर्सदको बेला हेरी बक्सेला सरकार
लाश, श्वास, आश
बिखरेको त्यो समाज
ढलेको मंगलसेन दरबार सम्मान छ
र फुटेका ती राता चुरा
पोई टोकाई वचन
गर्ने सासु ससुरा
अशुद्ध भोक चलन
चलाउने सारा
बनि गिद्ध लुछीरहेका छन्
मेरी दिदिका स्वतन्त्र श्वासहरु
खाई इच्छाका मांसहरु ।
इन्द्रेणी झैँ मेरी दिदी
आज तुवालो झैँ सेतो भएको
१२ वर्ष भयो
तर समाजरुपी खोला फर्केन
वर्षेनी तीज आए र गए ।
र उसका अविरल आँशुहरुले
लेखिएको यो खोला
मेलै लेखे तापनि
जिवन उसको हो
शब्द मेरो भएता पनि
युद्द उसको हो ।
र म यो लेखबाट
मेरी दिदिलाई सम्झन चाहन्छु ।
उसले क्रान्ति गरेको हेर्न चाहान्छु ।
क्रान्ति हजुर के गरिबक्सन्छ सरकार रु
क्रान्ति त म ज्योतिर्मय क्रान्तिकी
दिदी गर्ने छिन् ।
प्यारी दिदि
समाजका जन्जिरहरुले बाँधिएकी हजुर
देखेको छु
हर दिन,
हर रात,
हर पल
जिउँदै गएको सति
सधै मेरै पक्षमा उभिने हजुर
आग्रह गर्छु बाल्न जीवनको बाति
दिदि आउँदो तीजमा हजुर
पाखण्डी रितीरिवाजलाई
“रातो चुरा” लगाई
नाचेको हेर्न मन छ मलाई ।
(लेखक NEAइन्जिनियरिङ् कम्पनी लिमिटेडमा सर्वे इन्जिनियर पदमा कार्यरत छन् ।)