धनगढी। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण निरन्तर उकालो लाग्न थालेको छ। पुस अन्तिम सातादेखि प्रदेशमा संक्रमण दर उकालो लागेको हो। कोरोना भाइरसको संक्रमण दर उच्च रहेको भारतबाट स्वदेश फर्कन बढेसंगै सुदूरपश्चिममा पनि संक्रमणको ग्राफ उकालो लागेको हो। पछिल्लो एक सातामा मात्रै प्रदेशका दुई हजार २५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पुस २८ गते २५४, २९ गते ३१८, ३० गते ३८३, माघ १ गते २८३, २ गते १८४, ३ गते ३४५ र ४ गते ४८८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यो अवधिमा परीक्षण भएका झण्डै ३० प्रतिशतमा संक्रमण देखिएको हो। पछिल्लो दुई दिनमा भने पीसीआर परीक्षण गरेका ६० प्रतिशत बढीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गर्दै आएको तथ्यांकमा उल्लेख छ।
३६ प्रतिशतले पहिलो डोज पनि लगाउन पाएनन्
सुदूरपश्चिमका ५९ प्रतिशत अर्थात झण्डै १२ लाख नागरिकले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार ४१ प्रतिशत नागरिक भने पूर्ण खोपबाट बञ्चित रहेका हुन्।
‘संघीय सरकारले अहिलेसम्म सुदूरपश्चिमलाई २७ लाख ८७ हजार डोज खोप उपलब्ध गराएको छ,’ निर्देशनालयका निमित्त निर्देशक डाक्टर जगदिश जोशीले भने, ‘सरकारको लक्ष्य पुस मसान्तसम्म ६६ प्रतिशत पुगाउने थियो। हाम्रो प्रदेशमा पूर्ण खोप लगाउने नागरिकको संख्या ५९ प्रतिशत पुगेको छ।’
उनका अनुसार ६४ प्रतिशत नागरिकले भने कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। पहिलो डोज लगाउन नपाउने नागरिकको संख्या ३६ प्रतिशत छ। अहिले कोरोना भाइरसको तेस्रो भेरियण्ट ओमिक्रोनको समेत संक्रमण फैलिने खतरा बढेका बेला बुस्टर डोज लगाउने अभियान पनि सञ्चालन भएको छ।
‘कोरोना भाइरस नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्नेहरुका लागि बुस्टर डोज प्राप्त भएको छ,’ निर्देशनालयका निमित्त निर्देशक डा. जोशीले भने। Dinesh Khabarबाट