डडेल्धुरा । डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा छन् । मंगलबार डोटी पुगेका केसी बिहिबार बिहान डडेल्धुरा पुगेका छन् । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. केसीले बिहीबार नै डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन् ।
डा.केसीले बुधबार डोटी जिल्ला अस्पतालको पनि अवलोकन गरेका थिए । कानमा झोला भिरेर एक्लै सुदूरपश्चिमका पहाडी जिल्लाको अवलोकनमा निस्किएका डा. केसी डडेल्धुरामा भने केही दिन बिताउने जानकारी पाइएको छ ।
आफू सुदूर पहाड आउनुको कारण भने उनले खोल्न मानेका छैनन्। यद्यपि आफू पर्यटकका रुपमा सुदूरपश्चिम आएको संक्षिप्त प्रतिक्रिया दिए। ‘म आज पर्यटकका रुपमा यहाँ आएको हुँ।’ उनले भने, ‘डडेल्धुरा राम्रो लाग्यो। अबका केही दिन यतै बिताउँछु होला।
अस्पताल पुग्दा उनले अस्पतालको बस्तुस्थिति, बिरामीहरुको अवस्था नियालेको र सामान्य रुपमा यहाँको जनस्वास्थ्यको सवालमा कुराकानी गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए । ‘उहाँले अस्पतालको बस्तुस्थिति, भौतिक पूर्वाधारको अवस्थाबारे नियाल्नु भयो,’ उनले भने, ‘अस्पतालमा जनशक्ति के कति छ ? त्यसको बारेमा पनि केही सामान्य जानकारी उहाँले लिनुभयो।
त्यसबाहेक अन्य कुरा केही भएन।’ डा. केसीले यहाँ आउनुको कारण केही उल्लेख नगरेको उनको भनाइ छ। डा. केसी लामो समयदेखि चिकित्सा क्षेत्रको सुधारको माग गर्दै संघर्ष गर्दै आइरहेका छन्।
डा.केसीले आफ्नो संघर्षका क्रममा दुर्गममा पनि मेडिकल कलेज खुल्नुपर्ने माग राख्दै आएका छन्। जसमा उनले सुदूरपश्चिमको डोटी–डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान राख्दै आएका छन्।
१५औँ अनशन तोड्दा सरकारसँग २०७५ साउन १० गते ‘डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन’ गर्ने भनिएको थियो। त्यसका लागि ‘एक महिनाभित्र टोली गठन गर्ने’ भनिएको थियो।
यद्यपि यो बुँदा एक वर्ष बित्दा पनि कार्यान्वयन भने भएको छैन्। त्यसैले पनि डा.केसीको सुदूरपश्चिम भ्रमण यस कारण भएको हुन सक्ने आँकलन गरिएको छ।