डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका ५ (साबिकको काडामाडौं गाविस) मा २०६९ सालमा खोप लगाउँदा ज्यान गुमाएका बालबालिकाका परिवारले ८ वर्षपछि राहत पाएका छन् ।
खोपमा असावधानीका कारण चार बालबालिकाको मृत्यु भएको थियो। खोपका कारणले मृत्यु भएका बालबालिकाका परिवारलाई सर्वोच्च अदालतले ०७५ असार १४ गते खोप लगाएपश्चात् मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरूप प्रति व्यक्ति १० लाख रुपैयाँ दिन नेपाल सरकारलाई दिएको आदेश पछि उक्त रकम उपलब्ध भएको छ ।
अदालतको आदेश पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत पीडित बालबालिकाका अभिभावकको खातामा उक्त रकम जम्मा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अधिवक्ता लक्ष्मण मलासीसँग ४ जनाको मृतकका परिवारले पाउने गरि हस्ते ४० लाख रुपैयाँको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको थियो । मन्त्रालय बाट प्राप्त रकम बैँक खातामार्फत पीतिड परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी टेक नारायण पौड्यालले बताएका छन् ।
‘स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासनलाई पठाएको रकम आफुले पीडित परिवारलाई हस्तान्तरण गरेको प्रजिअ पौड्यालले बताए । ०६९ सालमा दादुरा खोप लगाएलगत्तै बालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु बिकको मृत्यु भएको थियो। ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको अन्जुका बुवा हरिभक्त बिकले बताए।
‘हामीले धेरै पटक सबैसँग आग्रह गर्यौँ तर पाउन सकेका थिएनौँ, सर्वोच्च अदालतको फैसलापछि पनि लामो समय लाग्यो’ बिकले भने।
सर्वोच्चको फैलसापछि पनि छिटो काम गर्नका लागि धेरै पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धाउनु परेको अधिवक्ता लक्ष्मण मलासीले बताए। ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा ढिलाइ भयो, पीडित परिवारसहित हामीले धेरै पटक धाउनु पर्यो’ मलासीले भने।