काठमाडौं । नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आह्वान गरेको छ । बुधबार गोरखापत्र दैनिकमा सो सम्बन्धी सूचना प्रकाशित गर्दै नेपाली सेनाले २ सय ५० जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ ।
कुल २५० मा खुलातर्फ १३१, सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीले ७ सिटमा आवेदन दिन पाउनेछन् ।
उक्त सूचनाअनुसार योग्यता पुगेको इच्छुक नेपाली नागरिकले यही भदौ ४ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सक्नेछ भने दोब्बर दस्तुर तिरेर असोज ३ गतेदेखि असोज ९ गतेसम्म आवेदन दिन सक्नेछ ।
उक्त पदमा आवेदनमा लागि प्रमाणपत्र तह वा सो सरह/स्नातक तह वा सो सरह उत्तिर्ण भएको हुनुपर्ने तथा विदेशबाट एसएलसी वा प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेको हकमा अनिवार्य गणित विषय लिएको हुनुपर्ने उल्लेख छ । साथै सेनाले आवेदन दिनका लागि एसएलसी वा प्रमाणपत्र तहको परीक्षाको प्राप्तांकको कुल योगफल २ जिपिए वा सो सरहभन्दा माथि हुनुपर्ने उल्लेख गरेको छ ।
योग्यता पुगेको नेपाली नागरिकले नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फारम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्नुपर्ने सेनाले जनाएको छ ।
हेर्नुस् सूचना