मुम्बई । इन्डियन्स आइपिएलको पाँचौ उपाधि नजिक पुगेको छ। बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि ५७ रनको जित निकाल्दै चार पटकको च्याम्पियन्स मुम्बई फाइनलमा प्रवेश गरेको हो।
मुम्बईले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले खराब ब्याटिङ गर्यो। दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन मात्र जोड्न सक्यो।
दिल्लीका शीर्ष तीन ब्याट्सम्यान शून्यमा आउट भएका थिए। पहिलो ओभरको दोस्रो बलमा पृथ्वी शा र पाँचौ बलमा अजिन्का राहाणेलाई मुम्बईका ट्रेन्ट बोल्टले आउट गरेका थिए।
दोस्रो ओभरको दोस्रो बलमा शिखर धवनलाई जसप्रित बुमराहले शुन्यमा बोल्ड गरेपछि दिल्ली सुरुमै संकटमा परेको थियो।
दिल्लीका लागि मार्कोस स्टोइनिसले ६५ रन र अक्षर पटेलले ४२ रनको योगदान दिए।
दिल्लीको इनिङ ध्वस्त पार्ने क्रममा मुम्बईका जसप्रित बुमराहले ४ विकेट लिए। उनले चार ओभरमा १ ओभर मेडन राख्दा १४ रन दिए। २ ओभर बलिङ गरेका बोल्टले १ ओभर मेडन राख्दा २ विकेट लिँदै ९ रन खर्चिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा २०० रन जोड्यो।
मुम्बईका लागि इशान किसनले नटआउट ५५ रन र हार्दिक पाण्ड्याले नटआउट ३७ रन जोडे। किसनले ३० बलमा ४ चौका र ३ छक्का हिर्काए। पाण्ड्याले १४ बलमा ५ छक्का हर्काए।
त्यसअघि ओपनर क्वान्टन डी ककले ४० रन र सूर्यकुमार यादवले ५१ रनको योगदान दिए।
बलिङमा दिल्लीका रविचन्द्रन आस्विनले ३ विकेट लिए।
हार बेहोरे पनि दिल्लीले दोस्रो क्वालिफायर खेल्न पाउनेछ। त्यसअघि शुक्रबार रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावादबीच एलिमिनेटर हुनेछ। विजेता टिम दोस्रो क्वालिफायरमा पुग्नेछ।
दोस्रो क्वालिफायमार जित निकाल्ने टिम र मुम्बईबीच उपाधि भिडन्त हुनेछ।