धनगढी। कैलालीको धनगढीमा शनिवारबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। वनदेवी युवा क्लबको आयोजनमा सुरु भएको प्रतियोगिता अन्तर्गत पहिलो उद्घाटन खेलमा विभागय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।
धनगढी रङ्गशालामा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफको ५९औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्। निर्धारित ९० मिनेटको खेलमा चन्द्रपुरका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि रेखाको गोल नै निर्णायक गोल बन्यो। वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्ने छ। प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए। धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालिन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए। दिनेश खबर बाट