काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । निक्कै प्रतिष्पर्धात्मक खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले शुरुवातमै अग्रता लिएको थियो । खेलको १६ औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालले सुरुवाती अग्रता लिएपनि खेलको ३६औँ मिनेटमा भुटानले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो ।
कप्तान चेन्चो ग्यालसेनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । उनले डिबक्सबाट दोस्रो बार च्याप्दै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा एक एक गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा भने नेपाल थप आक्रमक भएर मैदान उत्रिएको थियो । खेलको ५३ औं मिनेटमा नेपालले पुनः खेलमा अग्रता बनायो । सुनिल बलले हेडमार्फत गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाउन सफल भए । त्यसपछि खेलमा कुनैपनि गोल हुन सकेन र उपाधिसँगै नेपालले भुटानविरुद्ध लगातार १४ औं जित समेत निकाल्न सफल भएको छ । योसँगै नेपालले सागमा स्वर्ण पदक सख्या ५१ पुगेको छ ।