भदौ । सुख, पति, पुत्र प्राप्तीका लागि माङ्गलिक कामना गर्दै मनाइने गौरा पर्व मङ्गलबारदेखि सुरु भएको छ । गौरालाई सुदूरपश्चिम प्रदेशभरि धुमधामका साथ मनाइने गरिन्छ ।
भाद्र पञ्चमीको दिन पञ्चगेडीको बिरुडा भिजाएर गौरा पर्वको सुरुवात गरिएको हो । गौराको पहिलो दिन घर–घरमा बिरुडा भिजाइएको छ । गौरा–महेश्वर (पार्वती–शिव) को अनुष्ठान गरेर गौरा पर्व मनाउने चलन रहेको छ । गौरा पर्व महिलाहरुले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको बताइएको छ ।
‘सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्तिका लागि महिलाले धार्मिक अनुष्ठान गर्ने पर्व गौरा हो’, धनगढीका साहित्यकार पदमराज जोशीले भने–‘महिलाहरुले दृढ सङ्कल्प शक्तिको विकासका लागि पनि यो अनुष्ठान गर्ने चलन छ ।’
धार्मिक कथन अनुसार पावर्तीले महादेवलाई पति पाउँ भनेर अनुष्ठान गरेको हुनाले गौरा पर्व मनाउने चलन सुरु भएको हो । भगवान शिवलाई पतिको रुपमा प्राप्त गर्नका लागि पार्वतीले कठोर अनुष्ठान गरेको बताइन्छ ।
गौरा पर्वमा व्रत बस्नाले श्रीमानको दीर्घायु र असल पति, पुत्र प्राप्त हुने जनविश्वास रहेको महाकाव्यकार मनिराज जोशीले बताए । ‘गौरा पर्वमा गौरा–महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनुका साथै जीवनमा आनन्द प्राप्त हुने विश्वास गरिन्छ’, उनले भने–‘ त्यसैले सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्ला र प्रदेश नम्बर ५ को पहाडी जिल्लामा गौरा पर्व धुमधामका साथ मनाइन्छ ।’
गौरा पर्व सुरु भएसंगै सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्ला गौरामय बनेको छ । गाउँदेखि सहरसम्म गौराको चहलपहल बढेको छ ।
गौराको धार्मिक महत्व
गौरा पर्व भाद्र पञ्चमीबाट सुरु हुने गर्दछ । पञ्चमीको दिन मटर, चना, गहत, सानो केराउ र गुँरास गरी पाँच प्रकारका दलहन वस्तु भिजाइन्छ । यसलाई बिरुडा भनिन्छ । बिरुडा पञ्च भौतिक वस्तुको प्रतिक हो । बिरुडा गौरा–महेश्वरलाई चढाइने गरेको जनाइएको छ ।
पञ्च भौतिक तत्व भनेको आकाश, पानी, पृथ्वी, आगो र हावा हो । सम्पूर्ण प्राणी जगतको शरीर पञ्च भौतिक तत्वबाट बनेको विश्वास गरिन्छ ।
गौरा पर्वको दोस्रो दिन अर्थात षष्ठीमा नजिकको जलाशयमा गएर बिरुडा पखाल्ने गरिन्छ । यहि दिन बलु जातको वनस्पतिमा भगवतीको आह्वान गरेर भगवतीलाई निमन्त्रणा गर्ने चलन रहेको छ ।
सप्तमीका दिन बलुसहित अरु आठ प्रजातिका वनस्पतिहरु (धान, साउँ, पाती, कुर्जो, दुबो, कुस, तिल र अफामार्ग) को मूर्ति बनाइन्छ । नौ प्रकारका प्राकृतिक वनस्पतिबाट बनेकाले यसलाई नवदुर्गाको प्रतिक मान्ने गरिन्छ । यहि नौ प्रकारका वनस्पतिबाट बनेको मूर्ति भगवती अर्थात पार्वतीको मूर्ति हो । यसलाई गरगहना लगाएर खेतबाट बाजागासहित गौरा घरमा भित्र्याइन्छ ।
अष्टमी, गौरा पर्वको अन्तिम दिन हो । यो दिन व्रतालु महिलाहरुले दुबोको पूजा गर्ने चलन रहेको छ । दूबोलाई आयुको प्रतिक मान्ने गरिएको जनाइएको छ । व्रतालुहरुले दुर्गाष्टमीको पूजा गरेर सप्तर्षीको गाँठो भएको दुबा धागो ग्रहण गर्दछन् । सप्तर्षीको ज्ञान प्राप्त होस भनेर दुबा धागोलाई महिलाहरुले जनैको रुपमा ग्रहण गर्ने गरेको बताइएको छ । उनीहरुले माला बनाएर दुबो धागो लगाउने गर्दछन् ।
यसरी दुर्गाष्टमीको पूजा गरेर गौरा पर्वको समापन गरी प्रसादको रुपमा बिरुडा खाने चलन रहेको साहित्यकार जोशीका भनाइ छ । यसरी, गौरा पर्व धार्मिक महत्व बोकेको सुदूरपश्चिमेलीहरुको प्रमुख चाड रहेको साहित्यकार जोशीले बताए । अनुसार अष्टमीको दिन गौरा समापन भएसंगै रमाइलोका लागि डेउडा खेल्ने गरिन्छ ।
गौराको सामाजिक महत्व
गौरा पर्वले सुदूरपश्चिमेलीहरुलाई एकताको बन्धनमा बाँधेको छ । यसैगरी, यो पर्वले परिवार, आफन्त बीचको सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत गरेको छ । घरपरिवारबाट टाढा रहेकाहरु पनि गौरा मनाउनका लागि घरमा फर्किने गरेका छन् । पारिवारिक भेटघाट, जमघट हुने गरेको छ ।
लामो समयसम्म बिछोडिएर रहेकाहरुको मिलन गराउने गरेको छ, गौराले । अहिले यो पर्व मनाउनका लागि परदेशीहरु पनि गाउँघर फर्किसकेका छन् । गौरा पर्वको अवसरमा खेलिने डेउडा खेलले मेलमिलाप बढाएको छ । धनी–गरिब, तल्लो–उपल्लो जाति नभनिकन काँधमा काँध मिलाएर पाइतालाको तालमा सबै मिलेर डेउडा खेल्दै रमाउने गरिन्छ ।
डेउडामा धुमारी, चैत, चाँचर, फाग गाएर रमाउने गरिएको गौराको सम्बन्धमा गिरीराज अवस्थीले बताए । अचेल यस्ता गीतलाई युवा पुस्ताले वास्ता नगर्ने परिपाटी हावी हुनुले भने उनलाई चिन्तित् बनाएको छ । गौरामा ध्यान दिने कार्य भए पनि युवा पुस्ताले चैत, धुमारी, फाग जस्ता मौलिक गीत संगीतलाई चासो नदिएको उनले गुनासो गरे । ‘यसले भविष्यमा हाम्रो संस्कृतिको अस्तित्व नरहने सम्भावना बढेको छ’, अवस्थीले भने ।
छ गते सार्वजनिक विदा
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा भदौं ६ गते प्रदेशभरी सार्वजनिक विदा दिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्रालयले विज्ञप्ती जारी गरेर शुक्रबार गौरा पर्वको अवसरमा सार्वजनिक विदा दिइएको जानकारी गराएको हो । पश्चिम टुडे बाट साभार