धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरूलाई कैद सजाय गर्न सक्ने बताएका छन् ।
मङ्गलवार धनगढीमा प्रेस सङ्गठनद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पछिल्लो समय कालोबजारी बढ्दै गएको बताउँदै कालोबजारी जरिवाना मात्रैले नियन्त्रण नभए कैद सजाय समेत गर्ने बताएका हुन ।
बजार अनुगमन दसैँ तिहारमा मात्रै नभएर निरन्तर चलिरहने भन्दै कालोबजारीयाहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए । ‘अहिलेको बजारलाई व्यवस्थित गर्ने जिम्मा हाम्रै हो, मन्त्री भट्टले भने बाहिर बाट आयात हुने खाद्यान्न दाल लगायतका वस्तुहरूमा केही महँगी बढेको छ ।’
लकडाउनका कारण अर्थतन्त्र र रोजगारीमा समस्या सिर्जना भएको बताउँदै इट्टा भट्टीहरुमा अधिकाशं भारतिय कामदार रहेकोले त्यहाँ नेपाली कामदारलाई काम दिनुपर्ने उनले बताए । यस्तै कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने, धनगढी अत्तरिया कोरिडोर स्थापना गर्ने र अर्थतन्त्रले भ्याएसम्म विभिन्न ठाउँमा औद्योगिक क्षेत्रहरू स्थापना गर्दै लैजाने बताए ।
मन्त्री भट्टले बैतडीको दोगडाकेदारमा फस्फोराइड उत्खनन्का लागि ड्रिलिङ थालिएको बताए । मल खादमा प्रयोग हुने फस्फोराइडको परीक्षण सफल भए कैलालीमा उद्योग स्थापना गरिने उनले बताए ।