काठमाडौं । भारतको बिहारमा बुधबारदेखि तीन चरणमा विधानसभा चुनाव सुरू हुँदैछ। यो चुनावले गत १५ वर्षदेखि मुख्यमन्त्री रहेका नितिश कुमारको भाग्यको फैसला गर्नेछ।
यसपालि बिहार चुनावमा ६९ वर्षीय नितिश कुमारलाई टक्कर दिँदैछन्, ३२ वर्षीय तेजश्वी यादवले।
भ्रष्टाचारको अभियोगमा जेल जीवन बिताइरहेका बिहारका पूर्व मुख्यमन्त्री लालु यादवका कान्छा छोरा हुन् तेजश्वी। उनी सन् २०१५ मा नितिश कुमारको सरकारमा उप-मुख्यमन्त्री थिए।
त्यो बेला नरेन्द्र मोदीको हिन्दुवादी पार्टीलाई रोक्न भनेर नितिश कुमारको जनता दल संयुक्त (जेडियु) र लालुको राष्ट्रिय जनता दलले (आरजेडी) मिलेर चुनाव लडेका थिए। सो गठबन्धनले चुनाव जितेपछि नितिश मुख्यमन्त्री बने भने तेजश्वी २६ वर्षकै उमेरमा उप-मुख्यमन्त्री बनेका थिए।
सत्तामा पुगेपछि र भ्रष्टाचारको विषयमा यादव परिवार जोडिन थालेपछि नितिशले विस्तारै आरजेडीसँग दुरी बढाउँदै लगे। प्रधानमन्त्री मोदी र भाजपाको प्रभाव देशैभरि बढ्न थालेपछि बिहारमा आफूलाई सुरक्षित राख्न नितिशले भाजपासँग सम्बन्ध बढाएको आरोप लाग्ने गरेको छ।
सन् २०१७ मा नितिशले आरजेडीलाई सत्ताबाट निकालेर भाजपासँग सत्ता-साझेदारी गरे। अहिले भाजपा, बिहारका अध्यक्ष सुशील मोदी नितिशका उप-मुख्यमन्त्री छन्।
नितिशसँग सत्तासाझेदारी छुटेपछि तेजश्वी एकैपटक उप-मुख्यमन्त्रीबाट प्रतिपक्षी दलको कुर्सीमा पुगेका थिए। सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा बिहारका ४० सिटमध्ये एउटामा पनि आरजेडीले जित्न नसकेपछि तेजश्वीको राजनीतिक भविष्य माथि टिकाटिप्पणी हुन थालेको थियो।
तेजश्वीले हार मानेन्। पछिल्लो एक वर्ष उनले १२ करोडभन्दा बढी जनसंख्या भएको र जातीय राजनीतिले जरो गाडेको बिहारका कुना-कुना पुगेर निरन्तर प्रचारप्रसार गरे। उनको युवा अनुहार, बुबा लालुको जस्तै आम लवजमा भाषण गर्ने शैली, तीन पटक मुख्यमन्त्री भएका नितिशप्रतिको घट्दो आकर्षण र कोरोनाले गर्दा बिहारमा रोजगारी र आममानिसको आयमा आएको कमीले तेजश्वी यादवप्रतिको आकर्षण बढेको विश्लेषकहरूको भनाइ छ।