काठमाडौँ ।गृहमन्त्री रामबहादुर थापाले वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभएको छ । वरिष्ठ प्रहरी उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरूलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिनुभएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको पनि उपस्थिति थियो । हालै सशस्त्र प्रहरी बलमा ६ जना डीआईजी बढुवा भएका थिए । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न जुट्न र त्यसका लागि आवश्यक स्रोतसाधनको कमी भए मन्त्रालयलाई जानकारी गराउन पनि गृहमन्त्री थापाले आग्रह गर्नुभयो ।
शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृह मन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप काम कारबाही अघि बढाउन निर्देशन दिनुभयो ।