धनगढी । सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरुले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन्। प्रदेशका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाउन थालिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए। ‘३० गते हुने निर्वाचनका लागि प्रदेशका सबै निर्वाचन कार्यालयले वैशाख ८ गते बिहीबार जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन्,’ उनले भने, ‘अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुगाउने काम भइरहेको छ।’प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कुल तीन हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र रहेका छन्। कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिने छन् भने कञ्चनपुरका ९ पालिकाका ३४१ मतदान केन्द्रमा एक हजार ८ सय बढी कर्मचारी खटिने छन्। कञ्चनपुरमा पनि निर्वाचनको तयारी तिब्र भइरहेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराले बताए। ‘कञ्चनपुरमा पनि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ,’ उनले भने, ‘निर्वाचन सामग्री चार पालिकामा पुगाउने काम भएको छ भने बाँकीमा आजसम्म पुगाउछौँ।’ निर्वाचन आयोगको कार्यतालिकाअनुसार बाजुरा जिल्लामा पनि सबै पालिकाको केन्द्रमा बिहीबार नै मतदान अधिकृतको कार्यालय स्थापना गर्ने तयारी छ। मतदान अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचन सामग्री र सुरक्षाकर्मीसमेत निर्वाचन अधिकृतको कार्यालयमा खटिने जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए। ‘बाजुराका ९ स्थानीय तहका निर्वाचन केन्द्रको अनुगमन सम्पन्न भएको छ,’ उनले भने, ‘हामीले निर्वाचन सामग्री खरिद गरिसकेर मतदान केन्द्रमा पुगाउँदै छौँ।’ सुदूरपश्चिममा यो वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन्। जसमध्ये ८ लाख ३१ हजार ४७० महिला, ८ लाख ६६२ पुरुष र १८ जना तेस्रो लिङ्गि रहेका छन्। Dinesh Khabar बाट