काठमाडौँ । सत्ता गठबन्धनमा कुन दलले कति सिट पाउने भन्ने विवाद मिलाउन नसक्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउने जिम्मा फेरि शीर्ष नेतृत्वलाई नै दिएको छ ।
संख्याको विवाद मिलाउन बिहीबार एघार घण्टासम्म दुईपक्षीय र तीनपक्षीय छलफल भए पनि पाँच दलमध्ये कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) बीच सहमति जुटेन । सिट संख्या टुंग्याउन नसकेपछि सिटौलाले गठबन्धनका शीर्ष नेताहरूलाई कार्यदलले एक महिनाको अवधिमा गरेका गृहकार्य र करिब ९० निर्वाचन क्षेत्रमा भएका सहमतिबारे ‘ब्रिफिङ’ गरेका थिए ।
गठबन्धन दलबीच कसले कति सिट पाउने भन्ने संख्या यकिन गर्न नसक्दा क्षेत्रगत छलफलबाट शतप्रतिशत समझदारी जुटाउन नसकिएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार कांग्रेसले १०० सिट दाबी गरेकामा ९० सिटको अडान छाडेको छैन । माओवादीले ६० को दाबी गरेकामा ५० सिट पाउनुपर्ने अडान राखेको छ । एकीकृत समाजवादी ४० को दाबीबाट २५ र जसपा ३२ को दाबीबाट २७ सिट पाउनुपर्ने अडानमा छन् । राष्ट्रिय जनमोर्चाको दाबी दुई सिटमा छ ।
प्रचण्डले कांग्रेस ९० बाट घटेर ८२/८३ मा आउनुपर्छ भन्ने सोचाइ बनाइरहेका छन्, कांग्रेस त्यतिमा झर्यो भने अन्य दललाई मिलाउन सकिन्छ भन्ने प्रचण्डको सोच छ, त्यस्तै कांग्रेसले माओवादी ५० बाट ४५ मा झर्नुपर्छ भन्ने ठानिरहेको छ, निर्वाचनपछि गठबन्धनको निरन्तरतालाई लिएर कता–कता दाहाल र देउवाबीच पनि अविश्वास हो कि जस्तो देखिन्छ,’ कार्यदलका अर्का एक सदस्यले भने, ‘दुवैले एकले अर्कालाई साइजमा राख्ने रणनीतिक प्रयत्न भित्रभित्रै चलिरहेको छ ।’
प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये कार्यदल तहबाट करिब ९० क्षेत्रमा समझदारी जुटेको छ । कांग्रेसका ६०, माओवादीका १५, एकीकृत समाजवादीका ८ र जसपाका ८ क्षेत्रमा अन्य दलको दाबी नभएकाले समझदारी बनेको छ । त्यसमा केही सिट थपिने क्रममा भएकाले ९०/९५ सिटमा समझदारी भइसकेको छ । ‘कसले कति पाउने भन्ने समझदारी बनेमा मुख्य मिलाउनुपर्ने सिट भनेको १५/२० निर्वाचन क्षेत्रको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘खासगरी मधेस प्रदेशमा कसले कति पाउने भन्ने मुख्य विवाद छ ।’
मधेस प्रदेशमा जसपाले मात्रै २२ निर्वाचन क्षेत्रमा दाबी गरेको छ । कांग्रेसको दाबी पनि त्यति नै छ । गठबन्धन दलबीच मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा माओवादीलाई ४, एकीकृत समाजवादीलाई २, कांग्रेस र जसपालाई १३/१३ सिट बाँडफाँट गरेर मिलाउनेबारे छलफल भइरहेको छ । मधेस प्रदेशमै मुख्य आधार रहेको जसपाले १३ सिटभन्दा बढीको अडान राखिरहेको छ । कार्यदलका सदस्य एवं माओवादी नेता वर्षमान पुनले कार्यदलले ८० प्रतिशत क्षेत्रमा सहमति गरेर कार्यदललाई प्रतिवेदन बुझाएको दाबी गरे । ‘केही समस्या देखिएका निर्वाचन क्षेत्रमध्ये तीनपक्षीय कम र दुईपक्षीय बढी छ, त्यसलाई शीर्ष नेताहरू बसेर टुंग्याउनु हुनेछ,’ उनले भने । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले न्यायोचित रूपमा बाँडफाँट हुने विश्वसनीय वातावरण बनेको बताए । ‘कार्यदलले गरेका कामको रिपोर्ट हामीले नेताहरूलाई बुझाएका छौं, आवश्यकताअनुसार शीर्षस्थ नेता र कार्यदल बसेर नमिलेका क्षेत्र मिलाउने काम हुन्छ, यो काममा अब धेरै ढिलाइ हुन्न,’ उनले भने, ‘भागबन्डा मात्रै नभएर परिणाम आउने गरी चुनावी तालमेल मिलाउने पक्षमा गठबन्धन छ । सिट संख्या पनि न्यायोचित रूपमा वितरण हुन्छ । परिणाम पनि राम्रो आउँछ ।’
नमिलेका निर्वाचन क्षेत्रमा सहमति जुटाउने प्रयासमा बिहान ९ देखि २ बजेसम्म कार्यदल बैठक बसेको थियो । कार्यदलले नसकेपछि साढे २ बजेपछि शीर्ष नेता र कार्यदलको बैठक बसेको हो । कांग्रेस–माओवादी, कांग्रेस–जसपा, कांग्रेस–एकीकृत समाजवादी, माओवादी–जसपाबीच शृंखलाबद्ध छलफल चलेको थियो । देउवा र दाहालबीचमा पनि छुट्टाछुट्टै छलफल भएको थियो । मधेस प्रदेशका कार्यक्रममा गएका जसपा नेता उपेन्द्र यादव २ बजे राजधानी फर्कनासाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सिधै शीतल निवास पुगेका थिए । नागरिकता विधेयकलगायतका विषयमा साढे २ घण्टा शीतल निवासमा छलफल गरेर यादव ४ बजेपछि मात्रै गठबन्धन बैठकमा आइपुगेका थिए ।
जसपा असन्तुष्ट
मधेस प्रदेशमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जनता समाजवादी पार्टीले गठबन्धनबाट अलग्गिने चेतावनी दिएको छ । अध्यक्ष उपन्द्रे यादवले एक्लै चुनाव लड्ने गरी तयार रहन कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । वीरगन्जमा बिहीबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धनबिना पनि चुनाव लड्न सक्ने बताएका हुन् ।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं प्रवक्ता मनीषकुमार सुमनले सिट बाँडफाँटमा गठबन्धन दलका नेताहरूको आफू मात्रै मुख्य बनौं भन्ने इच्छा देखिएको बताए । उनले जसपा गठबन्धनको संस्थापक भएको र गठबन्धनमा रहनुको उद्देश्य सबैले मिलेर जित्ने रहेको तर गठबन्धन दलका नेताहरूमा मधेसलाई हेप्ने, आफैं मुख्य बन्ने प्रवृत्ति देखिएको उनले बताए । ‘सिट बाँडफाँटमा मधेसको शक्तिलाई पाखा लगाउन खोजिँदै छ,’ उनले भने, ‘जुन हाम्रा लागि मान्य छैन ।’
कार्यकारिणी सदस्य रकम चेम्जोङका अनुसार जसपाले देशभरमा ३२ सिट दाबी गरेको छ । ‘०७४ मा जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले मधेस प्रदेशमा १० सिट जितेको थियो, कांग्रेसले ६ र माओवादीले ३ सिट जितेका थिए, त्यही हिसाबले बाँडफाँट हुनुपर्यो भन्ने हाम्रो माग हो,’ उनले भने ।
संघीय समाजवादी फोरम २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेको थियो । जसपाले मधेस प्रदेशमा बढी सिट माग गर्नु जायज रहेको उनले बताए । ‘गत निर्वाचनमा जितेको सिटसमेत खुम्चाइनु भनेको मधेसप्रति अन्याय गर्न खोजिएको हो,’ उनले भने । जसपाले मधेसमा आफ्नो वर्चस्व पुनः कायम गर्न चाहेको छ तर अन्य सत्ता गठबन्धन दलले पनि सिट बाँडफाँट गर्न चाहन्छन् ।
मधेस प्रदेशमा अधिक सिटको माग गरेको र अरू दलले पनि लोभ देखाएकै कारण जसपा एक्लै निर्वाचनमा जान सक्ने सम्भावना बढेको जसपाका एक केन्द्रीय कार्यकारिणी नेताले बताए । ‘मधेसमा जसपाले भनेअनुसार सिट नपाए गठबन्धन लम्बिँदैन,’ ती नेताले भने, ‘अध्यक्ष यादवको कडा निर्देशन छ ।’
मधेस प्रदेशमा कांग्रेसले जसपाभन्दा बढी सिट दाबी गरेको छ । एकीकृत समाजवादी र माओवादीले पनि मधेसमा विगतमा जितेको भन्दा बढी सिट दाबी गर्दै आएका छन् । मधेस प्रदेशले नै गठबन्धन बलियो बनाएको र शक्तिकेन्द्रित क्षेत्रमा जसपालाई कमजोर बनाउन खोजिएको भन्दै जसपाका नेताहरू चिढिएका हुन् । प्रवक्ता सुमनले भने, ‘हामी सबैको जित हुने हेतुले गठबन्धनमा आएका हौं, सबै ठूला पार्टी मिलेर मधेसलाई हेप्ने गरिन्छ भने त्यो मान्य हुँदैन ।’ कान्तिपुर समाचार बाट