महोत्तरी । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसँग आँखामा आँखामा जुधाएर कुरा गरेको बताएका छन् ।
निर्माणधिन हुलाकी राजमार्ग निर्माणको काम अलपत्र परेपछि आफुले प्रधानमन्त्री मोदीसँग आँखामा आँखा जुधाएर कुरा गरेको उनले बताएका हुन् ।
‘१६ वर्षदेखि भारतले बनाउँछ भन्दै हामी बस्यौ,’ उनले भने, ‘कहिले भारतले काम गरेको देखेनौं, अनि मैले प्रधानमन्त्रीको हैसियतले मोदीलाई भने, कि बनाउनुहोस, कि हामी आफैँ बनाउने छौ ।’
प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई ताकेता गरेपछि अहिले हुलाकी राजमार्गको कामले गति लिएको दाबी गरे । भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच सीमाको बारेमा जे जति सहमति वा सम्झौता भएको छ, प्रचण्डले भने, ‘भर्खरै मोतिहारीदेखि अम्लेगञ्जसम्म पाइपलाईन विछ्याउने काम भएको छ, त्यो चानचुने होईन । यो धेरै महत्वपूर्ण छ ।’
प्रचण्डले पाइपलाईनबाट पेट्रोलियम पदार्थ ल्याउने काम पनि ऐतिहासिक भएको दावी गरे । उनले भने, ‘चीनका राष्ट्रपति नेपाल आउँदा जुन सहमति भयो । त्यो सहमतिपछि चीनका राष्ट्रपतिले नेपल अब भुपरीबेष्ठित देश नभएको उद्घोष गर्नु भएको छ, यो पनि नेपालीहरुको लागि सुखद पक्ष हो ।’
प्रचण्डले नेपालको विकास लागि भारत र चीन दुवैले एकसाथ सहयोग गर्न तयार भएको ठोकुवा गरे । ‘नेपालको लागि भारत र चीन दुवैले मिलेर काम गर्ने भएका छन्, उनले भने, ‘यो नेपालीहरुको लागि सुखद पक्ष हो, नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाईन उद्घाटन हुनु अनि चीनका राष्ट्रपति नेपाल आउनु ।’
मधेसका लागि विकास गर्ने कम्युनिष्ट पार्टी मात्र भएको भन्दै प्रचण्डले मधेसको सम्बृद्धिको लागि मधेसी जनता एक जुट पर्ने बातए । ‘मधेसी जनताको हक अधिकारको पक्षमा मैले लडेको छु, मेरो तराई मधेसँग प्रेम छ । तराई मधेसको सम्बृद्धि कम्युनिष्ट पार्टीबाट मात्र सम्भव छ ।’
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा काठमाण्डौंबाट तराई मधेस जोड्ने फाष्टट्रयाक शिलन्यास गरेको बताउँदै सबँभन्दा पहिला रेल पनि प्रदेश २ मै गुड्ने बताए । ‘मधेसमा कम्युनिष्ट पार्टीले धेरै विकास निर्माणका कामहरु अघि बढाएको छ,’ उनले भने, ‘त्यसमा अझै मधेसी जनताको साथ कम्युनिष्ट पार्टीले खोजेको छ ।’नागरिक खबर बाट