काठमाडौं । सन् १९८० मा २४ वर्षीय रमेशकुमार गुप्ता न्यूरोडमा हार्डवेयर पसल चलाउँथे । त्यसपछि उत्पादन र आयात–निर्यात व्यापारमा हात हालेका उनले ३८ वर्षमा उद्योग–व्यापारमा आफ्नै साम्राज्य खडा गरे । यसभित्र सिमेन्ट, तार तथा केबल, मोबाइल, जलविद्युत, बैंकिङ, ई–कमर्श र इन्स्योरेन्सदेखि खेलकुद र सूचना प्रविधिसम्मका १३ वटा उद्योग–व्यापार छन् ।
नेपालमा सबभन्दा पहिले पब्लिक सेयर जारी गर्ने सिमेन्ट उद्योग शिवम्, ठूलो वैदेशिक लगानी भित्र्याउने सिमेन्ट उद्योग होङ्शी शिवम् स्थापनामा गुप्ताको योगदान र लगानी छ ।
व्यावसायिक शिखर चढ्दै गर्दा उनलाई क्यान्सर रोग देखियो । रोगसँग संघर्ष गर्दागर्दै तीन वर्षअघि उनको निधन भयो । वार्षिक ४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार हाँकिरहेका उनको निधनपछि गुप्ता परिवारमा नेतृत्वको संकट देखा पर्यो ।
‘अचानक पिताजीको स्वर्गवाससँगै हामीले इमान्दार व्यावसायिक मान्यताका मानक गुमायौं र केही समय शून्यतामा गयौं,’ छोरा रोहित गुप्ता भन्छन्, ‘बुबाले छोडेको व्यावसायिक धरोहर उठाउनुको विकल्प पनि हामीसँग थिएन ।’
हुनपनि, स्वर्गीय रमेशकुमार गुप्ताले खडा गरेको व्यावसायिक साम्राज्य धान्न वास्तवमै चुनौतीपूर्ण थियो । देशका अन्य ठूला उद्यमीसँगको साझेदारीमा समेत बाबुले अघि बढाएको लक्की ग्रुपमा रोहित नडगमगाइ उभिन आए । तीन वर्षयता बुबाको विरासत धान्न सफल हुँदै गएको उनी बताउँछन् ।
बेलायतमा फाइनान्सियल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका उनी अहिले ३५ वर्षका भए । पिताले हुर्काएको व्यवसायलाई एउटै छातामा समेट्न, नयाँ व्यावसायिक सोच कार्यान्वयन गर्र्न, कर्मचारी र ग्राहकलाई कम्पनी आफ्नै हो भन्ने बनाउन उनले बुबाको नाममा ‘रमेश कर्पोरेसन’ खडा गरेका छन् ।
व्यावसायिक साझेदारहरुसँग अलग भएर ५ चैतमा घोषणा भएको रमेश कर्पले बिजुली, पानी, सिमेन्ट लगायत नेपाली उत्पादन विश्व बजारमा पुर्याउने, स्वदेशमा थप रोजगागारी सृजना गर्ने लक्ष्य लिएको छ । रमेश कर्प ‘नयाँ सोच कार्यान्वयनको पहिलो कदम भएको रोहित बताउँछन् ।
कर्पका उपाध्यक्ष रोहित गुप्तासँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कर्पोरेट कुराकानीको सम्पादित अंश :
रमेश कर्पले के–कस्ता व्यावसायिक संस्थाहरुको प्रतिनिधित्व गर्छ ?
दिवंगत पिता रमेश गुप्ताको नाममा खोलिएको हाम्रो समग्र बिजनेसको स्वमित्व बोक्ने छाता संस्था रमेश कर्प हो । यसमा पिताले झण्डै चारदशक लगाएर सृजना गर्नुभएको १४ वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नेतृत्व यस कर्पोरेसनले गर्छ । पिताको सृजनालाई उहाँकै नाममा थप व्यवस्थित र परिस्कृत गरेर अघि बढाउन चाहेका हौं ।
नेपालकै ठूलो होशीं शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, पूर्वाधार विकास बैंक, महालक्ष्मी विकास बैंक, इ–कमर्शमा सस्तो डिल, लुम्बीनी बिद्युत उद्योग, दुईटा जलबिद्युत परियोजनासहित १४ औद्योगिक–व्यावसायीक संस्थाको प्रतिनिधित्व कर्पले गर्छ । हामी क्लाउड कम्प्युटिङ, खानी, रियल स्टेट, मोबाइल डिस्ट्रीब्यूसन लगायत क्षेत्रमा पनि काम गर्दै छौं ।