डोटी। उच्च अदालत तत्कालीन रजिस्ट्रार रणबहादुर कटवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको, स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरी पारिश्रमिक दिएको र विभिन्न शीर्षकका बजेट नक्कली बिल भरपाई गरी ४ लाख ९८ हजार ९ सय ९५ रुपैयाँ अनियमितता गरेको ठहरसहित कटवाललाई अख्तियारले बिहीबार अथार्थ हिजो विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै रजिस्ट्रार कटवाललाई ४ लाख ९८ हजार ९ सय ९५ बिगो कायम गर्दै कैद सजाय र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर गर्न मागदाबी गरिएको छ ।
सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा कटवालले दिपायल सदरमुकाममा होटल खर्च भएको स्वीकृती गरी बिल भरपाई बनाई भुक्तानी लिएको, कतिपयमा स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यवसायीहरुसँग अफिसको हिसाबकिताब मिलाउन हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी भ्रमण काजको भुक्तानी लिनेलगायत कार्य गरेको उनीमाथि आरोप लागेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।