जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नहुँदा कञ्चनपुरका वन्यजन्तुपीडित किसान राहतबाट वञ्चित भएका छन् । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाको व्यवस्थाअनुसार लालपुर्जा नभएका वन्यजन्तुपीडित किसान राहतबाट वञ्चित भएका हुन् ।
लालपुर्जा नहुँदा वन्यजन्तुपीडित किसानले पाँच वर्षदेखि राहत पाउन सकेका छैनन् । वषौँदेखि जिल्लाका विभिन्न बस्तीमा बसोवास गर्दै आएको भए पनि लालपुर्जा नहुँदा पीडितले अझैसम्म पनि राहत पाउन नसकेका हुन् । पुनर्वास नगरपालिका–८ का पदम दमाईको ०७१ सालमा हात्तीले घर भत्काउनुका साथै पाँच कट्टा जमिनको धान नोक्सान गरिदिएको थियो । उनीसंग लालपुर्जा नहुँदा अहिलेसम्म राहत पाएका छैनन् ।
०७१ सालमा पुनर्वास–८ कै सन्तोष परियार, कमला परियार र श्याम परिवारको हात्तीले घर भत्काएको थियो । तर, तीनै जनाले अहिलेसम्म सरकारी राहत पाएका छैनन् । ‘हामीसँग लालपुर्जा छैन, त्यसैले सरकारले राहत दिएन,‘ पीडित श्याम परिवारले भने । राहत वितरण निर्देशिकामा त्रुटि भएकाले सच्याउनुपर्ने उनले माग गरे ।
गत वर्ष असोजतिर हात्तीको बथानले लालझाडी गाउँपालिका–६ देखतभूली ढक्का आरक्षपीडित शिविरका २५ टहरा एकै रातमा भत्काएको थियो । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हीरा भण्डारीले लालपुर्जा नभएकाको हकमा राहत नपाउँदा पीडित आफैँले टहरा पुनर्निर्माण गरेको बताए । भोट माग्दा दैलोमा आएर सबै समस्या हल गर्छु भन्ने नेताहरूले पीडितको हितमा कामै नगरेको दुःखेसो उनको छ । वन तथा भू–संरक्षण मन्त्रालयले निर्माण गरेको ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, ०६९ दोस्रो संशोधन ०७४’ मा वन्यजन्तुले घर, गोठ र खाद्यान्न बालीको क्षति गरेमा अनिवार्य लालपुर्जा पेस गर्नुपर्ने प्रावधानका कारण पीडित किसान राहत पाउनबाट वञ्चित भएका छन् । निर्देशिकाले ऐलानी जमिन भएका किसानलाई सम्बोधन गर्न सकेको छैन । विभिन्न १४ प्रजातिका जंगली जनावरले मानवीय, पशुधन, अन्नबाली र घर गोठमा क्षति पु-याएमा राहत दिने व्यवस्था छ ।
न्यून राहत रकम
निर्देशिकामा मानवीय, पशुधन, भण्डार गरेको अन्न, घरगोठ, खाद्यान्न बालीको क्षति गरेमा छुट्टाछुट्टै प्रकृतिका राहत दिने प्रावधान छ । राहत रकम ज्यादै न्यून भएको जग्गाधनी प्रमाणपत्र भएका वन्यजन्तु किसानको दुःखेसो छ । मानवीय क्षतितर्फ सामान्य घाइतेका लागि २० हजारसम्म औषधोपचार खर्च दिने, सख्त घाइते भएका विशेषज्ञ चिकित्सकको सिफारिसमा दुई लाखसम्म औषधोपचार खर्च दिने, मृत्यु भएका पीडितको परिवारलाई १० लाख राहत रकम दिने प्रावधान छ ।
राहत वितरण हुन्छ
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाअनुसार आफूहरूले राहत वितरण गर्ने बताए ।