चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
सोमबार बसेको समिति बैठकले चीनका लागि नेपाली राजदूतमा पाण्डेको नाम सिफारिस गरेको हो । समिति सभापति लक्ष्मणलल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए ।
गत फागुन १८ को मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डेविरुद्ध समितिमा कुनै पनि उजुरी परेन । संसदीय समितिले २८ फागुनमा उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो । सो समयमा कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।
प्रस्तावित राजदूत पाण्डेले दुई देशबीच भएका सम्झौता कार्यान्वयन र समयसीमाभित्र काम सक्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपाल र चीनबीच निरन्तर उच्चस्तरीय तथा औपचारिक र अनौपचारिक भ्रमणको आदानप्रदान गराउन प्रयत्न गर्ने प्रतिबद्धतासमेत जनाए ।
पाण्डेले चीनको राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक अवस्था, प्रवृत्ति तथा परिवर्तनको अध्ययन गरी नेपालमा पर्न सक्ने असर र सम्भावनाको विश्लेषण गरी परराष्ट्र मन्त्रलयमार्फत नेपाल सरकारलाई प्रत्येक महिना प्रतिवेदन पेस गर्ने बताए ।
पाण्डेले चिनियाँ लगानीकर्तालाई नेपालको जलस्रोत, कृषि, भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने प्रतिबद्धतासमेत जनाए ।
समितिले नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूतमा नियुक्त गर्नेछिन् ।nayapatrika.com