एजेन्सी । कोरोना भाइरसबाट इटलीमा यो समाचार तयार पार्दासम्म ९७ हजार ६ सय ८९ जना संक्रमित छन् । १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । यो संसारमै कुनै पनि देशमा धेरै मृत्यु हो ।
इटलीमा संक्रमण र मृत्यु किन धेरै ?
इटलीमा अहिलेको यो अवस्था किन आयो ? कसरी पुग्यो इटलीमा कोरोना भाइरसको संक्रमण ? यो प्रश्न संसारभर उठिरहेको छ । युरोपका जुनसुकै देशको तुलनामा संक्रमित पनि इटलीमा धेरै छन् । मृत्युमा त इटलीले सबै देशलाई उछिनेको छ ।
इटलीमा कोरोना भाइरसको पहिलो संक्रमण २० फेब्रुअरीमा भएको थियो । नेपालमा २३ जनवरीमा नै कोरोना भाइरसको पहिलो संक्रमित फेला परेका थिए । इटलीमा २० फेब्रुअरीमा ३८ वर्षीय युवकले आफ्नो स्वास्थ्य जाँच गराउँदा उनी पोजेटिभ भेटिएका थिए । उनी नै इटलीको पहिलो संक्रमित व्यक्ति हुन् ।
तर केही स्वास्थ्य अधिकारीले भने पहिल्यै इटलीमा यो भाइरसको संक्रमण पुगेको बताउँछन् । इटालियन नेशनल इन्स्टिट्युट अफ हेल्थमा प्रकाशित एक लेखमा पनि यो भाइरस पहिल्यै पुगेको दावी गरिएको छ ।
पहिलो संक्रमित युवक फेला पर्ने समय अर्थात फेब्रुअरी २० को आसपास त्यहाँ इन्फ्लुइन्जाको संक्रमण थियो । कोरोना भाइरससँग यसका धेरै लक्षण मिल्ने भएकाले पनि पत्ता नलागेको हुनसक्ने अनुमान गरिएको छ ।
इटलीमा पहिलो संक्रमित फेला पर्ने समयमा पनि देशको उत्तरी क्षेत्रमा न्युमोनियाको ठूलो समस्या थियो । लोम्बार्डी क्षेत्रको कोडोन्गो कस्बे अस्पतालमा यस्ता दर्जनौँ बिरामी पुगेका थिए । जसलाई निमोनिया भएको थियो ।
अस्पतालमा आएका बिरामीलाई चिकित्सकले कोरोना भाइरसको संक्रमणको आशंका नै गर्न सकेनन् । उनीहरु सबैलाई सामान्य फ्लु र निमोनिया पीडित भन्दै उपचार गरियो । यो नै त्यहाँ कोरोना भाइरस फैलिने मुख्य कारण हुनसक्छ ।
लोम्बार्डीको उत्तरी क्षेत्र अहिले सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । इटलीमा कोरोना भाइरसका संक्रमित मध्ये ८५ प्रतिशत बिरामी यहीँ क्षेत्रका हुन् । इटलीमा मृत्यु भएका १० हजार मध्ये झण्डै ९ हजार यही क्षेत्रका रहेका बिबिसीले जनाएको छ ।
तर इटलीको सबै क्षेत्र कोरोना भाइरसबाट प्रभावित छ । इटलीका सबै २० प्रदेश नै संक्रमण देखिएको छ ।
इटलीमै धेरै व्यक्तिले ज्यान गुमाउने कारण के त ?
इटलीका स्वास्थ्य अधिकारीहरुले भाइरस पहिचान ढिलो हुनु नै यसको फैलिनुको कारण हो । त्यसैले इटलीमा हरेक दिन सयौँले ज्यान गुमाइरहेका छन् ।
स्वास्थ्य अधिकारी रिकार्डो भन्छन्, 'जब कोरोना भाइरस संक्रमण फैलिन सुरु भएको थियो, त्यो समयमा हामीले यसलाई पहिचान गर्न सकेनौँ । जब हामीले यसको संक्रमणबारेमा जानकारी प्राप्त गर्न सफल भयौँ । तब यो इटलीका सबै क्षेत्रमा चेनजस्तैगरी फैलिइसकेको थियो ।'
रिकार्डो भन्छन् कि, इटलीले अहिले धेरै संख्यामा आफ्ना नागरिक गुमाउनको मुख्य कारण यहीँ हो ।
केही सरकारी अधिकारीले भने युरोपका अन्य देशमा भन्दा कोरोना भाइरसको संक्रमणको परीक्षण धेरै गरिएकाले एकाएक धेरै आएको दावी गर्छन् । उनीहरुले युरोपका अन्य देशमा अब संकट आउने उनीहरु बताउँछन् ।
नेशलन हेल्थ इन्स्टिट्युटका अनुसार इटलीमा अहिलेसमम कोरोना भाइरसबाट मृत्यु हुनेको औसत उमेर ८१ वर्ष रहेको छ । संयुक्त राष्ट्र संघका अनुसार जापानपछि इटली धेरै बुढाबुढी भएको दोस्रो देश हो । त्यसैले पनि यहाँको मृत्युदर बढेको अनुमान गरिएको छ । यो भाइरसको संक्रमणले सबैभन्दा धेरै नकरात्मक असर बुढाबुढीमा पार्छ । इटलीमा ६५ वर्षकामाथिको संख्या ६५ वर्षभन्दा मुनीको संख्या भन्दा धेरै छ ।
संक्रमितको बढ्दो संख्यालाई हेरेर अनुमान गर्दा अहिले इटलीमा भएको मृत्युदर भन्दा धेरै मृत्युदर अन्य देशमा देखिने अनुमान गरिन्छ । अध्ययनमा संलग्न एक अधिकारीले अन्य देशका कुनाकाप्चामा परीक्षण नगरिएका धेरै बिरामी हुनसक्ने बताउँछन् ।
प्रदूषण पनि एउटा कारण ?
लोम्बार्डी क्षेत्रमा वृद्धवृद्धाका लागि क्लिनिक चलाउने एक चिकित्सक कासानीका अनुसार उत्तरी क्षेत्रको जनघनत्व पनि अर्को कारण हुनसक्ने अनुमान गर्छन् ।
हावाको गुणस्तर जाँच गर्ने स्विस एयर मनिटरिङ प्लेटफर्म (आइक्युएयर)का अनुसार युरोपका सबैभन्दा प्रदूषण सहरमा २४ सहर इटलीका छन् ।
विशेषज्ञका अनुसार यस्ता भाइरसको संक्रमणको कारण स्वास लिनका लागि समस्या हुन्छ । त्यसैले मृत्युदर र प्रदूषणबीचको सम्बन्ध पनि कतै न कतै रहेको छ ।
के इटलीको सरकारले तयारी गरेको थियो ?
जसरी इटलीमा कोरोना भाइरसको संक्रमण फैलिएको छ, त्यसको कारण सरकारले तयारी गरेन भन्ने प्रश्न संसारभरबाट आएको छ । इटली सरकारले कोरोना भाइरसविरुद्ध जुन कदम उठाएको छ, त्यो अन्य कमै देशले मात्र उठाएका छन् । सरकारले प्रभावकारी कदम चालेको देखिन्छ ।
इटलीमा कोरोना भाइरसको पहिलो केस आउनुपूर्व नै सरकारले एक टास्क फोर्स बनाएको थियो । यसलाई कोरोना भाइरसको संक्रमणको रोकथामका लागि गठन गरिएको थियो ।
इटली युरोपेली संघको पहिलो देश हो, जसले विमान सेवासमेत प्रतिबन्ध लगाएको थियो । तर केहीले यात्रामा गरिएको प्रतिबन्धलाई कोरोना भाइरस फैलिने मुख्य कारण पनि भनेका छन् ।
जब इटलीले चीनबाट आउने विमानलाई प्रतिबन्ध लगायो, तब इटलीमा युरोपका अन्य देशबाट इटली पुगेका थिए । सरकारलाई इटलीका नागरिकले सत्य विवरण पनि दिएनन् । विदेशबाट आएकाले आफ्नो विवरण लुकाएर पनि सरकारलाई समस्या पारेको देखिन्छ ।
केही विशेषज्ञले सरकारले प्रयास गर्नुपूर्व नै कोरोना भाइरसको संक्रमण इटलीमा प्रवेश गरिसकेकाले स्थिति नियन्त्रणमा आउन सकेन । नागरिकले पनि आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा समस्या आएको देखिन्छ ।
अहिले के गरिरहेको छ इटली सरकारले ?
इटलीमा सरकारले बिना कारण घर बाहिर ननिस्किन आदेश जारी गरेको छ । घरबाहिर निस्किएमा ३ हजार युरो अर्थात झण्डै ४ लाख नेपाली रुपैयाँ बराबरको जरिवाना तिर्नुपर्छ ।
जनावरमैत्री नीतिका कारण यहाँका नागरिकले झण्डै २ सय मिटरसम्म कुकुर लैजान पाइन्छ । तर नागरिकले जुनसुकै बेला कुकुर लिएरै सडकमा निस्किएको देख्न सकिन्छ । लोम्बार्डी क्षेत्रमा घर बाहिर निस्किने अधिकार पनि राज्यले खोसेको छ ।
सरकारले जारी गरेको नियमअनुसार नागरिकहरु १५ अप्रिलसम्म घरबाहिर निस्किन पाउने छैनन् । अनिवार्य कसरत गर्नुपर्ने भएका व्यक्तिले पास लिएको भए कसरत भने गर्न पाउने छन् ।
घर बाहिर कुनै पनि भिड्भाडको हिस्सा बनेमा त्यस्ता व्यक्तिलाई ५ हजार युरो अर्थात झण्डै साढे ६ लाख रुपैयाँ तिर्नुपर्छ । यो इटलीका अन्य क्षेत्रमा भन्दा २५ गुणा धेरै हो ।
कसैसँग दुई घर छन् भने त्यस्ता व्यक्ति आफ्नो मुख्य घरमा मात्र बस्नुपर्ने छ । दोस्रो घरमा जान पनि नपाउने नियम बनाइएको छ ।
पर्यटकीय क्षेत्र, सबै होटल, फार्म हाउसलगायत पूर्णरुपमा बन्द गरिएको छ । तर यो विश्वविद्यालय र धार्मिक क्षेत्रमा भने पूर्ण प्रतिबन्ध लगाइएको छैन ।
त्यस्तै एक परिवारका एक व्यक्ति मात्र कुनै पसलमा सामान लिनका लागि जान पाउने अनुमति छ । खाद्यान्न तथा पेय पदार्थ बेच्ने वेन्डिग मेसिन अनिश्चितकालका लागि बन्द गरिएको छ ।
सबै प्रकारका निर्माण कार्यहरु तत्कालका लागि बन्द गरिएको छ ।
सरकारी आदेशअनुसार अत्यावश्यक सेवामा काम गर्नेहरुको परीक्षण हरेक घन्टामा गरिएको छ । सार्वजनिक स्थानमा पुलिसले कसैलाई भेट्टाए पनि तापक्रम परीक्षण हुन्छ । लोम्बार्डीमा जस्तै तेस्रो प्रभावित क्षेत्र पिडमौण्टमा पनि लागू भएको छ ।
इटलीको स्वास्थ्य विभागले कसरी काम गरिरहेको छ ?
लगातार बढिरहेको संक्रमण र मृत्युमा लडिरहेको इटलीको अवस्था चिन्ताजनक छ । बिरामी र मृत्यु हुनेको संख्या बढेको बढ्यै छ । अस्पतालमा बेड कम भएर आसपासको क्षेत्रमा पनि राखेर उपचार गरिएको छ । चिकित्सकका सामू कसको उपचार गर्ने ? भन्ने प्रश्न छ ।
इटलीमा ५ हजार २ सय सघन उपचार कक्ष अर्थात आइसियु बेड रहेको छ । जाडो मौसम भएकाले पनि यहाँ स्वासप्रस्वासका धेरै उपचारका लागि भर्ना भएका छन् ।
लोम्बार्डी र वेनेटोको उत्तरी क्षेत्रमा निजी र सरकारी गरी जम्मा १ हजार ८ सय बेड रहेका छन् ।
लोम्बार्डीको अस्पतालमा काम गर्ने डा. स्टेफेनो म्यान्गोनले आफूहरुको क्षमता अनुसार सबै ठाउँमा बिरामी भरिएको बताए । उनी भन्छन्, ‘हाम्रो प्रान्तका सबै स्रोतहरु समाप्त भएका छन् । मानवीय र भौतिक सबै साधनको क्षमता सकिएको छ । हामीले नयाँ भेन्टिलेटर र नयाँ भवनको पर्खाइ गरिरहेका छौँ ।’
बर्गामोका एक फिजिसियन डा. डानियल मचिनीको ट्वीट अहिले संसारभर भाइरल बनेको छ । उनको ट्वीटमा सुनामी जस्तै आउने बिरामी र उनीहरुलाई उपचार गर्दा परेको आइसियुको अभाव लगायतका कुराहरु उल्लेख छ ।
उनी भन्छन्, ‘बिरामी सुनामी जस्तै बढिरहेका छन् । बिरामी मध्ये कम्तिमा २० जनालाई हरेक दिन आइसियुमा राख्नुपर्छ । टेष्ट गर्दा पोजेटिभ, पोजेटिभ र फेरि पनि पोजेटिभ आइरहेको छ । आपतकालीन सेवा नै धरासायी बनेको छ । आइसियुको त कुरै नगरौँ ।’
उपचारमा संलग्न चिकित्सकका सहकर्मी, स्वास्थ्यकर्मी र आफन्तले पनि ज्यान गुमाएका छन् । धेरै आफन्त र साथीहरु मृत्यु भएपछि उपचारमा संलग्नहरुकै मनस्थितिले राम्रो काम गरिरहेको छैन ।
इटलीका विदेशमन्त्री लुइजी डि माइयोले युरोपेली संघमा आवद्ध सबैको एउटै प्रकारको उपचार सिस्टम बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
इटलीको आर्थिक अवस्थामा कस्तो असर ?
महामारीको रुप लिइसकेको कोरोना भाइरसको संक्रमणले स्थानीयको मृत्यु मात्र भएको छैन, यहाँको रोजगार र आर्थिक क्षेत्रमा ठूलो नकारात्मक असर गरिरहेको छ ।
इटली लकडाउन भएको एक महिनाभन्दा धेरै भएको छ । प्रधानमन्त्रीले जुलाइ महिनासम्म लकडाउन हुनसक्ने बताएका छन् । त्यो समयसम्म इटलीमा आर्थिक परिसूचकहरुले पनि समस्या पार्ने देखिन्छ ।
इटलीले कोरोना भाइरसविरुद्ध चालेका कदमले देशको आर्थिक अवस्थामा नकारात्मक असर परिरहेको छ । इटलीको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने उत्तरी क्षेत्र नै कोरोना भाइरसको संक्रमणमा परेकाले अर्थ व्यवस्थामा समस्या पर्ने देखिएको हो । इटलीको आर्थिक विकास दरमा झण्डै २ प्रतिशत गिरावट आउन सक्ने अनुमान गरिएको छ ।
इटलीको लोम्बार्डी क्षेत्र इटलीको अर्थ व्यवस्थाका लागि मुख्य योगदान दिने क्षेत्र हो । यहाँको हिस्सेदारी २० प्रतिशतको हाराहारीमा छ । इटलीको १३ प्रतिशत जिडिपी पर्यटन क्षेत्रबाट आउँछ । लोम्बार्डी मुख्य पर्यटकीय क्षेत्र हो र यहाँको पर्यटन उद्योग पूर्णरुपमा समस्यामा परेको छ । त्यसैले इटलीको आगामी अर्थव्यवस्थाका विषयमा सजिलै अनुमान लगाउन सकिन्छ ।
के इटलीका लागि मात्रै आर्थिक मन्दीको असर पर्छ ?
अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका प्रमुख क्रिष्टिलिना गोर्गिवाले भनेकी छन्, ‘यो प्रष्ट छ कि, हामी आर्थिक संकटको अवस्थामा पुगिसकेका छौँ । यो आर्थिक संकट सन् २००९ को आर्थिक संकटभन्दा धेरै ठूलो हुनेछ । यसमा हामी सबैले ध्यान दिनुपर्छ ।’
क्रिष्टिलिना भन्छिन्, ‘विश्वको अर्थव्यवस्था नै अहिले संकट उन्मुख भएको छ । संकटतर्फ गइरहेको आर्थिक संकटलाई कम गर्नका लागि विकासशील देशहरुले नयाँ फण्ड बनाएर काम गर्नुपर्छ ।’
संसारका विभिन्न ८० देशले पहिल्यै अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफलाई गुहार मागिसकेका छन् ।
आइएमएफले संसारभरको आर्थिक अवस्था सुधारका लागि कम्तिमा २५ सय अर्ब डलरको तत्काल जरुरी छ । आर्थिक गतिविधिहरु अचानक ठप्प भएकाले संसारभरकै आर्थिक अवस्था झन्झन् कमजोर बन्ने देखिन्छ ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा) nagarikkhabar.com बाट